वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जले असार १७ गतेदेखि निकुञ्जभित्र सञ्चालन हुँदै आएको जिप सफारी सेवा अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ।
निकुञ्ज कार्यालय, कसराबाट प्राप्त जानकारीअनुसार वर्षायाम वन्यजन्तु तथा चराचुरुंगीहरूको प्रजननका लागि संवेदनशील समय भएकाले संरक्षणलाई प्राथमिकता दिँदै जिप सफारी सेवा बन्द गर्न लागिएको हो। निकुञ्जका अनुसार यो व्यवस्था असोजको पहिलो सातासम्म लागू रहनेछ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले वर्षाका कारण वनभित्रका कच्ची सडक बिग्रिने, साना खोला तथा खोल्सामा आकस्मिक बाढी आउने, रुख ढलेर आवागमन अवरुद्ध हुनेजस्ता जोखिम बढ्ने भएकाले पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै सेवा स्थगित गरिएको जानकारी दिए।
यद्यपि, निकुञ्जभित्रको जिप सफारी बन्द भए पनि निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा सञ्चालन हुने जिप सफारी सेवामा भने कुनै असर नपर्ने जनाइएको छ।
चितवन राष्ट्रिय निकुञ्जका लागि जिप सफारी प्रमुख राजस्व स्रोतहरूमध्ये एक हो। निकुञ्जभित्रको सेवा बन्द रहने अवधिमा अधिकांश पर्यटक मध्यवर्ती क्षेत्रका पर्यटकीय गन्तव्यतर्फ आकर्षित हुने गरेका छन्।
निकुञ्ज प्रशासनले हरेक वर्ष वर्षायामका कारण मध्य असारदेखि असोजको पहिलो सातासम्म निकुञ्जभित्रको जिप सफारी सेवा स्थगित गर्दै आएको छ।