कोशीका औषधि व्यवसायीले भारतीय सिप्ला कम्पनीकाे औषधि खरिद नगर्ने

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

कोशीका औषधि व्यवसायीहरूले भारतीय कम्पनी सिप्लाका कुनै पनि औषधिहरू खरिद नगर्ने निर्णय गरेका छन् । पटकपटक आग्रह गर्दा पनि म्याद गुज्रेका औषधिहरू व्यवस्थापन गर्न चासो नदिएपछि  नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशले भारतीय बहुराष्ट्रिय कम्पनी सिप्लाको सम्पूर्ण औषधिहरू खरिद नगर्ने निर्णय गरेको हो । 

संघले सोमबार भारतीय कम्पनी सिप्लाको नेपालस्थित आधिकारिक वितरणकर्ता यति फार्माकेम प्रालि काठमाडौंलाई पत्र पठाउँदै सिप्ला कम्पनीका औषधिहरू खरिद नगर्न कोशीका थोक र खुद्रा सबै व्यवसायीहरूलाई निर्देशन दिएको जानकारी गराएको छ । 

औषधि व्यवसायी संघ कोशीअनुसार म्याद गुज्रेका औषधिहरू व्यवस्थापन गर्न संघले  सिप्ला कम्पनीका म्याद गुज्रेका औषधि आपूर्ति, क्षतिपूर्तिसम्बन्धी विषयमा आवश्यक कदम चाल्न चेतावनीसहित आग्रह गरेको थियो। तर, उक्त अवधि गुज्रिँदा पनि समस्या समाधान गर्न चासो नदेखिएपछि बाध्य भएर सिप्ला कम्पनीका कुनै पनि औषधि खरिद गर्न पूर्ण रोक लगाएको औषधि व्यवसायी संघ कोशीका अध्यक्ष  धनबहादुर काफ्लेले बताए।

अध्यक्ष काफ्लेका अनुसार औषधि ऐन र नियमावलीमा म्याद सकिएका औषधिहरू उत्पादक कम्पनीले नै फिर्ता लैजानुपर्ने र त्यसको क्षतिपूर्ति वा सोधभर्ना दिनुपर्ने प्रावधान छ। अध्यक्ष काफ्लेले भने, ‘तर, पटक–पटक वार्ता र छलफलको प्रयास गर्दा पनि कम्पनीले  व्यवसायीको मर्का बुझ्न नचाहेपछि औषधि खरिदमा रोक लगाउने निर्णय गर्न बाध्य भएका हाैँ ।’  

भारतीय औषधि कम्पनी सिप्ला श्वासप्रश्वासका बिरामीले प्रयोग गर्ने औषधिका लागि परिचित छ । बजारमा श्वासप्रश्वास समस्याका विरामीका लागि  विकल्पमा अन्य थुप्रै कम्पनीका औषधिहरू उपलब्ध रहेकाले समस्या नहुने पनि औषधी व्यवसायी संघले बताएको छ ।  
  
 
 

सुझावित समाचार