सिराहाको लहानस्थित पर्यटन विकास कार्यालयको आर्थिक वर्ष ०८२/८३ को बजेटमा गोलबजार नगरपालिका– १२, बेतौना गाउँको मन्दिरको निर्माण स्वीकृत योजनास्थल र कार्यान्वयन स्थल फरकफरक पाइएको छ।
मधेश प्रदेश सरकारको उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालयमातहत रहेको कार्यालयले उपभोक्ता समितिमार्फत साबिकको बेतौना ६ (क)मा निर्माण गरिरहेको जितमहान मन्दिरको स्वीकृत योजनास्थल भने बेतौना ४ (क) रहेको भेटिएको हो। बेतौना गाउँ हुँदै वडा कार्यालय जाने आरसिसी ढलान सडकको उत्तरपट्टि जोडेर बनाइँदै गरेको मन्दिरको निर्माणस्थल वडाध्यक्ष गणेशकुमार मुखिया, उपभोक्ता समितिका अध्यक्ष माधव यादव र कार्यालयको सेटिङमा सारिएको स्थानीय युवा उमाकान्त मण्डलले आरोप लगाए।
उनका अनुसार वडा कार्यालयले २९ जेठ २०८२ मा गरेको चार किल्ला प्रमाणित सिफारिसको आधारमा पनि मन्दिर निर्माण भइरहेको जग्गा बेतौना ८ मा पर्छ। ‘कार्यालयले स्वीकृत गरेको योजनास्थल, उपभोक्ता समितिसँगको सम्झौता, टिप्पणी आदेश, कार्यादेशमा माधवगाछीमा जितमहान मन्दिर बनाइने उल्लेख छ,’ उनले भने, ‘वडाले गरेको चार किल्ला प्रमाणित सिफारिसमा बेतौना ८ अनि मन्दिर बनाइएको ठाउँचाहिँ बेतौना ६ (क) छ। यो सबै सेटिङ गरेर बजेट सिध्याउने खेलबाहेक केही होइन।’
छानबिन पनि सेटिङमा भएको आरोप
कार्यालयको स्वीकृत वार्षिक कार्यक्रमअनुसार बजेट शीर्षक ११.४.२२.५६७२ अन्तर्गत विनियोजित २५ लाख रुपैयाँमध्ये अर्थ मन्त्रालयको पत्रअनुसार २० प्रतिशत कट्टा गरी मन्दिरका लागि २० लाख रुपैयाँ छुट्याइएको कार्यालयको ३० वैशाख २०८३ को टिप्पणी आदेशमा उल्लेख छ।
सेटिङमा स्वीकृत योजनास्थल नै फेरेर मन्दिर निर्माण गरिरहेको भन्दै तत्काल काम रोक्न माग गर्दै ३ असारमा पर्यटन विकास कार्यालयलाई निवेदन दिएको भए पनि एक हप्तासम्म दर्ता नै नगरेको स्थानीय युवाहरूले गुनासो गरेका छन्। कार्यालयमा पटकपटक धाएपछि १० असारमा दर्ता गरी निमित्त कार्यालय प्रमुखले शाखा अधिकृत, इन्जिनियर र ओभरसियर सम्मिलित तीन सदस्यीय छानबिन समिति बनाएर मन्दिर निर्माण भइरहेको ठाउँ माधव गाछी नै हो भन्ने उल्लेख गरी प्रतिवेदन बुझाउने प्रपञ्चसहित फिल्डमा खटाएको उनीहरूको आरोप छ। त्यसकै लागि गत बिहीबार गाउँमा छलफल राखिएको, तर स्वीकृत योजनास्थल र कार्यान्वयनस्थल फरक भएको भन्दै स्थानीयले विरोध गरेपछि विनानिष्कर्ष टुंगिएको जनाइएको छ।
पर्यटन कार्यालयका निमित्त प्रमुख नवोनारायण मिश्रले स्थानीय युवाहरूले दिएको उजुरीपछि छानबिन समितिले काम थालेको र के कसो भएको हो, छानबिन प्रतिवेदन प्राप्त भएपछि मात्र भन्न सकिने बताए। ‘वडा कार्यालय, उपभोक्ता समितिले उपलब्ध गराएको कागजात, प्राविधिकहरूको स्थलगत निरीक्षणपछि योजना सञ्चालन गरिएको हो,’ उनले भने। ‘योजना सञ्चालन गरिएको ठाउँ फरक गरेर पनि कागजातमा चाहिँ किन माधवगाछी’ भन्ने उल्लेख गरेको भन्ने प्रश्नमा भने छानबिन प्रतिवेदन पर्खिन आग्रह गरे।
गोलबजार– १२ का वडाध्यक्ष गणेशकुमार मुखियाले बन्दै गरेको मन्दिरले चर्चेको जग्गा भएको ठाउँ, स्वीकृत योजनास्थल र पर्यटन कार्यालयले स्वीकृत गरेको ठाउँ एउटै वडा क्षेत्रमा पर्ने भएकाले त्यति फरक नपर्ने दाबी गरे।