रोल्पाको लुङ्ग्री गाउँपालिका–६, गुम्चालमा रहेको थामलेक पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। धार्मिक तथा प्राकृतिक रूपमा निकै आकर्षक यहाँको मन्दिर तथा भौगोलिक बनावट आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्न थालेको छ। समुद्री सतहबाट करिब २२०० मिटर उचाइमा रहेको थामलेकलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय पनि सक्रिय रूपमा लागेका छन्।
प्राकृतिक गन्तव्य
उसो त यहाँ बाह्रै महिना विभिन्न फूल, वनस्पति तथा स्थानीय कला संस्कृतिको लोभलाग्दो दृश्य देख्न पाइन्छ। खासगरी गर्मी समयमा प्राकृतिक सुन्दरतामा हराउँदै सिरसिर बतासको झोंकासँग रमाउँदै मिलेर बसेका थुम्काहरूसँग भिडियो, तस्बिर खिचाउँदा आगन्तुकहरू स्वर्गानुभूति गर्छन्। ‘यहाँ बनावटी कुरा केही आवश्यक छैन, प्राकृतिक रूपमा जेजति भौगोलिक बनावट छ, यसैमा ‘न्याचुरल’ आनन्द छ,’ वडाध्यक्ष तथा स्थानीयबासी जोखबहादुर बुढाथोकीले भने, ‘हामीले अन्य केही संरचना थप्ने योजना बनाए पनि प्राकृतिक सौन्दर्यलाई मर्न दिँदैनौँ।’
2026-06-29-05-31-03.jpeg)
आफ्नो गाउँठाउँमा पर्यटक आउन र चहलपहल बढ्न थालेपछि स्थानीय पनि दंग छन्। ‘पहिले गाई चराउने ठाउँ हो, भदौरे पूजापाठ पनि हुन्थ्यो, अहिले मान्छेहरू घुम्न आउँछन्,’ स्थानीय मनसुर बुढाक्षेत्री भन्छन्, ‘डाँडामा घुम्छन्, पूजा गर्छन्, फोटो खिच्छन्, हामीलाई पनि रमाइलो लाग्छ।’ थामलेकको पर्यटकीय प्रवर्द्धनसँग स्थानीयको आयआर्जन पनि जोडिएको छ। अहिले व्यवस्थित होमस्टे वा अन्य सुविधा नभए पनि समूहमा आउने पर्यटकलाई स्थानीय समुदायले खानपानको व्यवस्था गर्छन्। पाहुनाको मागअनुसार कोदोको परिकार तथा अर्गानिक खानपान यहाँको विशेषता हो।
झन्डै तीन-चार सय घरधुरीको बाक्लो गाउँको सिरानीमा छ –थामलेक। लेकबाट हेर्दा गुम्चाल गाउँ निकै आकर्षक देखिन्छ। झुरुप्प मिलेर बसेका गुम्चाल गाउँले पनि थामलेकको पर्यटकीय क्षेत्रलाई थप ऊर्जा दिइरहेका छन्।
थामलेकको धार्मिक महत्व
थामलेकमा शिवालय मन्दिर छ। शिवको पूजा गरिने यहाँ आफूले चाहेको वा मागेको पूरा हुने धार्मिक जनविश्वास रही आएको छ। थाम शिवालय मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष तथा पूजारी रत्न केसीले रुखको फेदीबाट वि.सं. २०१२ सालदेखि यहाँ पूजा गर्न थालिएको बताए। स्थानीय विजय बुढाथोकी, कमानसिंह खत्री, ऐमने विष्टलगायतले मन्दिर स्थापना गरेका केसीको भनाइ छ।
2026-06-29-05-31-47.jpeg)
स्थानीय तह तथा स्थानीय दाताहरुको सहयोगमा अहिले तीनतले मन्दिर बनेको छ। मन्दिर निर्माणका लागि गुम्चाल क्षेत्रबाट वैदेशिक रोजगारमा गएका युवाहरूले थाम मिलिजुली सेवा समाज दोहा कतारको अगुवाइमा सहयोग संकलन गरेका थिए। यहाँ विष्ट, खत्री र बुढाथोकीले विशेष पूजाआजा गर्छन्। जेठ, भदौ, माघ र शिवरात्रिमा गरी चारपटक पूजाआजा गरिनुका साथै भव्य मेला लाग्ने गर्दछ।
पर्यटन विकासतर्फ सरोकारवालाको ध्यान
यस क्षेत्रको समग्र विकासका लागि लुङ्ग्री गाउँपालिकाले गुरुयोजना बनाउँदै छ। आ.व. ०८३/८४ मा करिब ७५ लाख बजेट विनियोजन भएको लुङ्ग्री गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जोखबहादुर बुढाथोकीले बताए। त्यसमा ३० प्रतिशत पालिकाले म्याचिङ गर्नेछ र करिब एक करोड ७ लाखबराबरको बजेट विनियोजन भएको छ।
अध्यक्ष बुढाथोकीका अनुसार आगामी वर्षमा भौतिक निर्माणतर्फ घेराबार, सार्वजनिक शौचालय, लिफ्टबाट खानेपानीको व्यवस्था गर्ने, बालउद्यान बनाउने, बराह मन्दिरनजिकै ओल्लो र पल्लोडाँडाको बिचमा स्काइब्रिज बनाउने पर्यटन गुरुयोजनामा छ। करिब ५०/५५ लाख रुपैयाँ समुदायबाट आर्थिक संकलन र १५ लाखबराबर समुदायको श्रमदान भएको कारणले स्थानीयको चासोलाई हेरेर स्थानीय सरकारले पनि विकास निर्माणका लागि ध्यान पुर्याएको बताइएको छ।
2026-06-29-05-32-01.jpeg)
पर्यटन प्रवर्द्धनमा ‘सनस्टार क्लब’को हातेमालो
थामलेकको पर्यटकीय सम्भावना तथा पर्यटन प्रचारप्रसारका लागि जिल्लामै चर्चित सनस्टार युवा क्लबले घुम्ती बैठक एवं साहित्य र सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाभरका पर्यटकीय गन्तव्यहरूको विकास र प्रचारप्रसार गर्ने उद्देश्यले जारी अभियानअन्तर्गत यसपटक थामलेकमा कार्यक्रम गरिएको रोल्पा नगरपालिकाका पूर्वमेयर तथा क्लबका अध्यक्ष पूर्ण केसीले बताए।
लुङ्ग्री गाउँपालिकाको समन्वय, थाम शिवालय मन्दिर व्यवस्थापन समितिको व्यवस्थापन र नमस्ते लुम्बिनी ट्राभल्स एन्ड ट्रेकिङ प्रालिको सहकार्यमा गत शनिबार र आइतबार उक्त कार्यक्रम गरिएको हो। लुङ्ग्री गाउँपालिकाकै महत्वपूर्ण गन्तव्यको रूपमा रहेको थामलेकको विकासमा सहकार्य गरेको भन्दै गाउँपालिका अध्यक्ष भरतकुमार थापाले खुसी व्यक्त गरे। उक्त अवसरमा आयोजित ‘सिर्जनाका सुस्केरा’ र ‘संगीतका धुनहरू’ सेसनमा विभिन्न साहित्य सिर्जना तथा गीत-संगीतहरू प्रस्तुत गरिएका थिए भने पुरण क्षेत्रीद्वारा लेखिएका दुईवटा गीतसमेत सार्वजनिक गरिएको थियो।
कसरी पुग्ने थामलेक ?
पूर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्र सुलिचौरबाट वडाचौर एयरपोर्ट हुँदै थामलेक पुग्न सकिन्छ। पक्की सडकबाट उचालढुंगा छेडा पुगेपछि दायाँतिरको डाँडातिर कच्ची सडकबाट जानुपर्छ। कच्ची सडकको करिब १ किलोमिटरसम्म यातायातका साधन पुग्छन्। त्यसपछि करिब १० मिनेट हिँडेपछि थामलेक पुग्न सकिन्छ। अग्लो डाँडाबाट गामको कोठीभिर, सिस्ने हिमाल, प्युठानको स्वर्गद्वारी, जलजला पहाडलगायतका क्षेत्रहरू देख्न सकिन्छ।