अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई लगानीकर्ताको हित र पुँजीबजारको स्थायित्वमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित शपथग्रहण कार्यक्रममा मन्त्री वाग्लेले भट्टलाई पद तथा गोपनीयताको शपथ गराउँदै कुनै पनि लोभ र बाह्य प्रभावमा नपरी लगानीकर्ताको लगानीको सुरक्षा गर्न जोड दिए। उनले पुँजी परिचालनमार्फत आर्थिक वृद्धिलाई गति दिने वातावरण बनाउनुपर्ने बताए।
मन्त्री वाग्लेले पुँजीबजार सुधारका कामलाई समयसीमासहित योजना बनाएर अघि बढाउन निर्देशन दिँदै दैनिक, साप्ताहिक, मासिक, छ-मासिक र वार्षिक कार्ययोजना पेस गर्न पनि आग्रह गरे। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामा त्रास सिर्जना हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो।
‘मन्त्रालयबाट कुनै हस्तक्षेप हुँदैन, नतिजामा काम गर्नुहोस्,’ मन्त्री वाग्लेले भने, ‘बजारमा आत्मविश्वास बढाउँदै नियमन प्रभावकारी बनाउनुहोस् र मलाई हरेक हप्ता प्रगति ब्रिफिङ दिनुहोस्।’
नवनियुक्त अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको प्राथमिकताअनुसार पुँजीबजारको विकासमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए। उनले अध्ययन तथा सिफारिसहरू कार्यान्वयन गर्दै बजार सुधारलाई निरन्तरता दिने बताए।