अमेरिका र इरानबिच तत्कालका लागि एक–अर्कामाथिको सैन्य आक्रमण रोक्ने सहमति भएको छ। मध्यपूर्वमा बढ्दो तनाव अन्त्य गर्ने उद्देश्यले दुवै देशबिच प्राविधिक तथा कूटनीतिक वार्ता पनि निरन्तर जारी रहने अमेरिकी अधिकारीले जानकारी दिएका छन्।
अमेरिकी अधिकारीका अनुसार जुन १७ मा भएको संवेदनशील समझदारीपछि पछिल्ला दिनमा दुवै पक्षबाट सीमित आक्रमण भए पनि अहिलेका लागि सैन्य कारबाही रोक्ने सहमति कायम भएको छ। यससँगै हर्मुज जलडमरु हुँदै व्यावसायिक जहाजहरूको निर्बाध आवतजावत सुनिश्चित गर्ने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्।
समझदारीअनुसार इरानले जलडमरुबाट व्यावसायिक जहाजहरूलाई सुरक्षित आवतजावत गर्न दिने प्रतिबद्धता जनाएको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति गरेको छ।
‘समझदारीका सबै पक्षमा प्राविधिक वार्ता जारी रहनेछ। दुवै पक्षले अहिलेका लागि आक्रमण रोकेका छन् र जहाजहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन्,’ अमेरिकी अधिकारीले एएफपीलाई इमेलमार्फत बताएका छन्।
यद्यपि, आगामी वार्ताको मिति र स्थानबारे औपचारिक घोषणा गरिएको छैन। अमेरिकी सञ्चारमाध्यम एक्सिओसका अनुसार दुई अमेरिकी अधिकारी र एक जानकार स्रोतले मंगलबार कतारको दोहामा वार्ता पुनः सुरु हुने बताएका छन्। सिएनएनले पनि ट्रम्प प्रशासनका एक अधिकारीलाई उद्धृत गर्दै यही जानकारी सार्वजनिक गरेको छ।
यसबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पुनः आक्रमण गरे अमेरिका सैन्य कारबाही गर्न बाध्य हुने चेतावनी दोहोर्याएका छन्। शनिबार उनले अमेरिका युद्धमा पुनः फर्किन बाध्य भए इरान ‘अस्तित्वमै नरहने’ टिप्पणी गरेका थिए।