वाम शीर्ष नेताहरूको साझा निष्कर्ष : तत्काल सहकार्य, आन्तरिक समीक्षापछि मात्रै पार्टी एकता

सोमबार, १५ असार, २०८३
डिजिटल संस्करण
वाम शीर्ष नेताहरूको साझा निष्कर्ष : तत्काल सहकार्य, आन्तरिक समीक्षापछि मात्रै पार्टी एकता

७५औँ मदनजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीसहित वाम शीर्ष नेता । तस्बिर : संजित परियार/नयाँ पत्रिका

वामपन्थी दलका शीर्ष नेताहरूले लोकतान्त्रिक उपलब्धि र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि तत्काल सहकार्य गरेर एउटै मोर्चामा उभिए पनि पार्टी एकीकरण गर्ने हतारोमा नरहेको बताएका छन् । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित ‘कम्युनिस्ट आन्दोलन र मदन भण्डारीको व्यक्तित्व केन्द्रित विमर्शमा’ एउटै मञ्चमा सहभागी भएर उनीहरूले तत्काल सहकार्य र आन्तरिक समीक्षापछि मात्रै पार्टी एकता गर्नुपर्ने बताए ।

०७५ को एकताको अगुवाइ गर्ने एमाले अध्यक्ष केपी ओलीसहित माधवकुमार नेपाल र झलनाथ खनाल तथा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्ष नपुग्दै पार्टी एकता टुट्नुको कारणहरू पहिल्याएर आत्मसमीक्षा नगरी तत्काल सहकार्य गरे पनि एकता नगरिहाल्ने धारणा राखे । नेपालमा २३ र २४ भदौको घटनामार्फत कम्युनिस्टहरूविरुद्ध गम्भीर षड्यन्त्र भएका कारण आफूहरू तत्काल त्यस्तो देशी–विदेशी षड्यन्त्र परास्त गर्न कार्यगत एकतामार्फत एकजुट हुँदै दिगो एकीकरणका पक्षमा सक्रिय हुने उनीहरूको भनाइ थियो ।

सबै वाम पार्टीहरूमा नेतृत्व हस्तान्तरण, पुस्तान्तरण गरेर पुनर्गठन गर्न दबाब बढेका वेला उनीहरूले कम्युनिस्ट एकता गराएर आफूहरू नै राजनीतिमा सक्रिय हुने कि नयाँ अनुहारलाई नेतृत्व हस्तान्तरण गर्ने भन्नेमा मौन रहे । सबै वाम शीर्ष नेताहरूलाई एउटै मञ्चमा उभ्याएर कार्यगत एकताको सन्देशसहित पार्टी एकताको सम्भाव्य दिशा पहिल्याउने कामको संयोजन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । मदन भण्डारी फाउन्डेसनको संयोजनमा आयोजित कार्यक्रममा नेताहरूले वाम एकताको सम्भावनालाई लिएर विमर्श गरेका थिए । 

एमाले अध्यक्ष ओलीले पार्टीले अगाडि सारेका जबजको नीति सही रहेकाले एकीकरणका नाममा पार्टीको नीति सही छ कि गलत छ भनेर छलफल गर्ने पक्षमा नरहेको प्रस्ट्याए । यद्यपि, विगतमा पार्टीले गरेका कतिपय कमीकमजोरीबारे भने आत्ममन्थन र समीक्षा गरेर एकताको दिशामा जान तयार रहेको बताए । ‘हाम्रा नीतिहरू बिल्कुल सही छन्, त्यसकारण एमाले हाम्रा नीति सही छन् कि गलत छन् भनेर कुनै एकताका लागि छलफल गर्ने पक्षमा छँदै छैन ।

हामीले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत अनेक पक्षमा सही नीति निर्धारण गरेका छौँ । जनताको बहुदलीय जनवादलाई अझ प्रभावकारी र समयानुकूल बनाउँदै सर्वसाधारणले बुझ्ने गरी समृद्ध नेपाल : सुखी नेपालीको गन्तव्यका रूपमा समाजवाद के हो भन्ने कुरा स्पष्ट रूपमा अगाडि सारेका छौँ,’ ओलीले भने, ‘जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी काम गरेकै छैनौँ । हाम्रा पनि कमीहरू रहे होलान्, कतिपय कमजोरी पनि भए होलान्, आत्मसमीक्षा गरौँला, तर हामीले देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो ।’

उनले एमालेले देश बर्बाद पारेको भन्नेहरूलाई सूचकांक हेरेर बहसमा आउन चुनौती पनि दिए । ‘हामीले बर्बाद पारेनौँ, देशलाई अगाडि बढायौँ । प्यारामिटरमै हेरौँ, देश विकास कसरी अगाडि बढेको छ । हामीले गतल काम गरेर, देशद्रोही काम गरेर, जनताका विरुद्ध काम गरेर, विकासका काम गर्न नसकेर अयोग्य भएर जनतामा असन्तुष्टि, युवामा असन्तुष्टि बढेको होइन । झुटा प्रचार गरेर, हामीले भ्रष्टाचार गर्‍यौँ भनेर अफवाह फैलाएर हामीलाई बदनाम गर्ने, चरित्रहत्या गर्ने काम भयो,’ उनले भने । 

ओलीले कांगे्रस र नेकपा पनि मुलुकलाई प्रतिगमनमा लैजान खोजेको एउटै बुझाइमा आइपुगेको भन्दै अन्ततः त्यसलाई रोक्न सबै एकजुट हुनैपर्ने बाध्यात्मक अवस्था आएको बताए । कांग्रेसलाई विभाजन गरिएपछि अहिले एमालेलाई पनि फुटाउन खोजिएको भन्दै ओलीले त्यस्तो प्रयासलाई पराजित गरिने बताए । ‘कांग्रेसलाई फुटाइयो, अरूलाई पनि फुटाउने कोसिस हुन सक्छ । पहिले पनि फुटाइयो, मुस्किलले एकता गर्‍यो, सजिलैसँग फुट्छन् । यो कुरालाई हामीले सावधानीका साथ रोक्नुपर्छ,’ ओलीले भने, ‘प्रयासहरू भएका छन्, तर एमाले यति मजबुत, सुदृढ पार्टी हो । यसलाई बाहिरबाट कसैले हात हाल्न खोजिए पनि त्यस्ता कुरालाई पराजित गर्छौँ ।’

नेकपाका संयोजक प्रचण्डले तत्काल वाम पार्टीबिच सहकार्य नभए दुर्घटना हुने खतरा भए पनि हतारमा एकता गरेर फुर्सदमा पछुताउने कुरामा भने सतर्क हुनुपर्ने बताए । ‘कम्युनिस्ट आन्दोलन एकताबद्ध गर्नुअघि समीक्षा गर्नैपर्छ भन्ने पक्षमै छु । हतार गरेर फुर्सदमा पछुताउने कुरामा सतर्क हुनैपर्छ । तर, एकताका लागि सहकार्यबाट सुरु गरौँ भन्ने मेरो प्रस्ताव हो,’ उनले भने, ‘मैले कतै पनि वामपन्थी मिलेपछि मात्र सहकार्य सबै पुग्छ भनेको छैन । संविधान पक्षधर शक्तिहरू पनि एक ठाउँमा उभिनुपर्छ भन्नेमा पनि उतिकै जोड दिएको छु ।’ 

उनले वैदेशिक हस्तक्षेप, निरंकुशताविरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा तत्काल वामपन्थी र देशभक्त शक्तिहरूबिच सहकार्यका लागि मिल्नुपर्ने कुरा गर्दा गलत अर्थ लगाइएको बताए । तत्काल सदन, सडक र अब आउने निर्वाचनमा कार्यगत एकताको प्रस्तावलाई गलत रूपले प्रचार गरिएको प्रचण्डको भनाइ छ । आफूले भन्दै आएको क्रमभंगलाई पनि गलत अर्थमा बुझिएको उनको टिप्पणी थियो । 

प्रचण्डले भारतमा जस्तै नेपालमा कम्युनिस्ट आन्दोलनको जबर्जस्ती प्रभावलाई सिध्याउन दुनियाँभरिका प्रतिक्रियावादी लागेको भन्दै त्यसैको परिणतिका रूपमा २४ भदौको घटना गराएर नियोजित षड्यन्त्रसहित चुनाव गराइएको र अहिले कम्युनिस्टहरूलाई समाप्त पार्ने शृंखला अघि बढेको दाबी गरे । 

पूर्वराष्ट्रपति विद्या भण्डारीले एउटा निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलन र जबजको भविष्यबारे निष्कर्षमा पुग्न हतारो हुने बताइन् । ‘हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूका सामु आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ । यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ,’ उनले भनिन्, ‘तर, कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन ।’ भण्डारीले कम्युनिस्ट आन्दोलनमा आत्मसमीक्षा र रचनात्मकताको खाँचो औँल्याइन् । 

नेकपाका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकता पहिले अहिलेसम्मका कमजोरीको आत्ममन्थन गर्नुपर्नेमा जोड दिए । ‘हामीले जनताको बदलिँदो मनोविज्ञानलाई बुझ्न सकेनौँ वा हामीमा के–के विकृति आए ? यसको आत्मसमीक्षा गरौँ । यो एउटा पार्टीको मात्रै कुरा होइन, नेपालका जति पनि कम्युनिस्ट घटक छन्, ती सबैले आत्ममन्थन गर्न सक्नुपर्छ । त्यो गर्न सक्यौँ भने मात्रै हामीले कम्युनिस्टहरूलाई एक बनाउन सक्छौँ,’ उनले भने । 

नेपालले मिल्न सक्ने विषयमा मिलेर अघि बढ्नुपर्ने आवश्यकता आजको प्रमुख खाँचो रहेको जिकिर गरे । ‘मदन भण्डारीले भन्नुहुन्थ्यो, कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन, कुरो मात्रै गरेर केही हुनेवाला छैन,’ उनले भने, ‘हामीले अहिले मिल्न सक्ने कुरामा मिलेर अघि बढ्नुपर्नेछ ।’ भावनामा बहकिएर मात्र एकता गर्न नसकिने उनको भनाइ थियो । 

पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल वामपन्थी एकता सुरु गरिहाल्नुपर्नेमा जोड दिए । ‘हामी निकै लामो समयदेखि वैचारिक रूपले भिन्नभिन्न भएर आएका छौँ । यो भिन्नता एउटा विचार गोष्ठीले मेटिनेवाला छैन । लामो यात्रा गर्नुपर्नेछ, कम्तीमा आजको ज्वलन्त विषयमा एक हुँदै कार्यगत एकता गरेर अगाडि बढ्नुपर्नेछ,’ उनले भने ।

कम्युनिस्टहरू छिन्नभिन्न भएकाले भर्खरै सम्पन्न निर्वाचनमा वामपन्थी आन्दोलनले शर्मनाक पराजय बेहोर्नुपरेको उनको भनाइ थियो । ‘यदि निर्वाचनअघि नै दुई दलले कार्यगत एकता गरेको भए परिणाम अर्कै हुन्थ्यो । हिसाब गर्नुस्, नेकपाको १७ सिट र एमालेको २५ सिट जोड्दा ४२ सिट हुन्थ्यो । तर, हामी जुध्दा ३२ सिट गुमायौँ, त्यो सिट हाम्रै हुन्थ्यो । त्यो जोड्दा ७२ हुन्थ्यो, दुई पार्टीबिच एकता भएको भए यो संख्या अझ बढ्थ्यो,’ उनले भने, ‘करिब सय सिट वामपन्थीको हुन्थ्यो । आज यो बालेन तानासाही चल्ने थिएन,’ खनालले भने । 

आज दोस्रो तहका नेताहरू एउटै मञ्चमा देखिँदै
 नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीको अवसर पारेर दोस्रो तहका कम्युनिस्ट नेताहरू  एउटै मञ्चमा देखिँदै छन् ।  पुष्पलाल जन्मजयन्तीका अवसरमा फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोसोलिजमको आयोजनामा सोमबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा एमाले, नेकपा, माओवादी, संयुक्तलगायत विभिन्न कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताहरू सहभागी हुँदै छन् ।

कार्यक्रममा अमिक शेरचन, भीम रावल, देव गुरुङ, युवराज ज्ञवाली, घनश्याम भुसाल, जनार्दन शर्मा, नेत्रविक्रम चन्द, खड्गबहादुर विश्वकर्मा, विश्वभक्त दुलाल ‘आहुति’, धर्मेन्द्र बास्तोला, हरिबोल गजुरेल, महेश्वर दाहाललगायत नेताहरू सहभागी हुनेछन् । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको पुस्तक ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ विमोचन गरिँदै छ । पुष्पलालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक स्पष्टता र राष्ट्रिय सन्दर्भसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई पहिलोपटक नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए । पुष्पलाल सहिद गंगालालका माइला भाइ हुन् । 

 विद्यादेवी भण्डारी, पूर्वराष्ट्रपति
फागुनको निर्वाचनको सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ । तर कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन । कम्युनिस्ट आन्दोलनमा आत्मसमीक्षा र रचनात्मकताको खाँचो छ ।

सुझावित समाचार