पुष्पलालको १०२औँ जन्मजयन्ती मनाइँदै

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा सोमबार अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । 

पुष्पलाल फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोसोलिजमको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार बिहान ११ बजे आयोजित कार्यक्रममा एमाले, नेकपा, माओवादी, संयुक्तलगायत विभिन्न कम्युनिस्ट पार्टीका नेताहरू सहभागी हुँदै छन्।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको पुस्तक ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ विमोचन गरिँदै छ। कार्यक्रममा कम्युनिस्ट नेताहरूले समीक्षात्मक धारणा राख्नेछन् ।

कार्यक्रममा अमिक शेरचन, भीम रावल, देव गुरुङ, युवराज ज्ञवाली, घनश्याम भुसाल, जनार्दन शर्मा, नेत्रविक्रम चन्द, खड्गबहादुर विश्वकर्मा, विश्वभक्त दुलाल ‘आहुती’, धर्मेन्द्र बाँस्तोला, हरिबोल गजुरेल, महेश्वर दाहाललगायतका नेताहरू सहभागी हुने आयोजकले जनाएको छ ।

कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ। नेताहरूले नयाँ शिराबाट कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने बताए पनि ठोस कार्यक्रम ल्याउन सकेका छैनन् ।

पुष्पलालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक स्पष्टता र राष्ट्रिय सन्दर्भसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई पहिलोपटक नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए। पुष्पलाल सहिद गंगालालका माइला भाइ हुन्। पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता हुन् ।

पुष्पलालको नेतृत्वमा १० वैशाख २००६ मा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक हुन्। पुष्पलालको जन्म रामेछापको भँगेरीमा १५ असार १९८१ मा भएको थियो भने निधन ७ साउन २०३५ मा भारतको नयाँदिल्लीमा भएको थियो।
 

सुझावित समाचार