लुम्बिनी प्रदेशमा बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ। वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो।
प्रदेशभर ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा २५ लाख बिरुवा रोप्ने लक्ष्य राखिएको छ। सरकारी, निजी तथा सार्वजनिक स्थानमा बिरुवा रोपिनेछ। आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको गढवा गाउँपालिका- २, महदेवास्थित महदेवा सामुदायिक वनमा बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बिरुवा रोप्नु मात्रै पर्याप्त नभएकाले त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए। लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारूले प्रकृतिको अस्तित्व मानवभन्दा पुरानो भएकाले यसको विनाशले मानव सभ्यतामै संकट निम्त्याउने चेतावनी दिए। उनले वन तथा वातावरण संरक्षणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले यस वर्षको वृक्षारोपणमा जैविक विविधतालाई प्राथमिकता दिइएको जानकारी दिए। उनका अनुसार पानी जम्ने क्षेत्रमा जामुन, अन्य ठाउँमा मौवा प्रजातिका बिरुवा, डाले घाँस, फूल फुल्ने तथा सांस्कृतिक महत्व बोकेका विभिन्न प्रजातिका बिरुवा रोपिएको छ। लमही नगरपालिकाका कार्यवाहक नगरप्रमुख लक्ष्मी योगीले वन संरक्षणलाई आयआर्जन र उद्यमसँग जोड्नुपर्ने आवश्यकता औँल्याइन्।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव भट्टराईको सिर्जनामा तयार गरिएको वन संरक्षणसम्बन्धी गीतसमेत मुख्यमन्त्री आचार्यले सार्वजनिक गरेका छन्।