कोशी प्रदेशको दोस्रो ठुलो सहर धरान उपमहानगरमा वर्षौँपछि नयाँ बसपार्क औपचारिक रूपमा सञ्चालनमा आएको छ। पटक–पटकको लामो विवादपछि निर्माण सकिएपछि पनि सञ्चालनमा आउन नसकेको धरान– ८ स्थित नयाँ धरान बसपार्क शनिबारदेखि औचापरिक रूपमा सञ्चालनमा आएको हो।
नयाँ धरान बस टर्मिनलको शनिबार धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघाले गरेका छन् । धरान उपमहानगरको तीनकुने सुन्दरबस्ती जग्गा विकास क्षेत्रमा बनेको तीनतले टर्मिनल भवनसहित स्मार्ट बसपार्क निर्माण भएर औचापरिक रूपमा सञ्चालनमा आएको हो।
यो वर्ष तत्कालीन प्रमुख हर्क साम्पाङले उद्घाटन गर्ने तयारी गरे पनि पूर्वाधारका थप काम पुरा अधुरै रहेकाले बसपार्क सञ्चालनमा आउन सकेको थिएन । पूर्वउमहानगर प्रमुख तिलक राईले पनि आफ्नै कार्यकालमा बसपार्कको निर्माण सम्पनन गराएर उद्घाटन गर्न चाहेका थिए । तर, कोरोना महामारीले निर्माण कार्य ठप्प हुँदा उनको चाहना पनि अधुरै रहेको थियो।
लामो समय विवादले गर्दा निर्माणमा ढिलाइ भएको धरानको नयाँ बसपार्कको अधुरो निर्माण पूरा गराउन पूर्वउपप्रमुख मञ्जु भण्डारीले पनि शिलान्यास गरेकी थिइन्। नयाँ बसपार्कमा आवश्यक पूर्वाधारको अभाव भएको भन्दै यातायात व्यवसायीहरूले बसपार्क सञ्चालन गराउन असहयोग गर्दै आएका थिए।
धरान उपमहानगरका कार्यवाहक प्रमुख बेघाले बसपार्कको प्रभावकारी सञ्चालन र व्यवस्थापन भौतिक संरचना निर्माणभन्दा मुख्य चुनौती रहेको भन्दै राजनीतिक मतभेद र जस लिने होडबाजीभन्दा माथि उठेर धरानको सर्वाेत्तम हित सोचेर बसपार्क दिगो रूपले सञ्चलान गराउन सबैलाई आग्रह गरे।
नयाँ बसपार्क निर्माण हुनुअगाडि धरानको भानु चोकस्थित पुरानो र साँधुरो बसपार्कबाट यातायातहरू सञ्चालन हुँदै आएका थिए। करिब २७ कट्ठा क्षेत्रफलमा बनेको नयाँ बसपार्कमा यात्रु प्रतीक्षालय, शौचालय व्यापारिक सटर, रेस्टुरेन्ट, लज, कफीसपलगायतका सुविधा उपलब्ध छन्।