करिब अढाई महिनायता सेयर बजारमापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१७.३६ अंकले घटेको छ । गत २ वैशाखमा नेप्से परिसूचक २८६६.८७ विन्दुमा पुगेको थियो । त्यसयता बजार उतारचढावबिच ओरालो लागेर शुक्रबारसम्म (१२ असार) आइपुग्दा २६४९.५१ विन्दुमा कायम छ ।
बजार ओरालो लागेसँगै कारोबार पनि खुम्चिँदै गइरहेको छ । २ वैशाखमा १० अर्ब २८ करोड रुपैयाँसम्म पुगेको कुल सेयर कारोबार १२ असारसम्म आइपुग्दा दुई अर्ब ७७ करोड रुपैयाँमा सीमित छ । शुक्रबार बजार पुँजीकरण ४५ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँमा सीमित छ । २ वैशाखमा ४८ खर्ब ८९ अर्ब ६० करोड थियो ।
वास्तवमा पुँजी बजारलाई माया गरेर यसलाई अझै एक प्रतिशत घटाइदिनुपर्ने थियो । तर, अर्थमन्त्री स्वर्णिम वाग्लेलाई त लाग्ला, हाम्रो क्यापिटल गेन ट्याक्स अन्य देशको तुलनामा धेरै कम छ । तर, विगतका सरकारहरूले पुँजीबजारलाई ध्वस्त पारेको पृष्ठभूमि र अहिलेको बजारको वस्तुस्थिति पनि हेर्नुपर्छ ।
सेयर लगानीकर्ता छोटेलाल रौनियार भन्छन्– बजारमा लामो समयदेखि सेयरको आपूर्ति मात्र आइरहेको छ, तर माग बढाउने वातावरण बनेको छैन । लगानीकर्ता डर र त्रासमा बाँचिरहेका छन् र आफ्नोअगाडि सम्पत्ति गुमेको देखिरहेका छन् । हामी गुनासो लिएर कसकोमा जाने ? धितोपत्र बोर्ड (सेबोन)मा हेर्नुहोस्, कहिले नेतृत्व खाली हुन्छ त कहिले राजनीतिक खिचातानी हुन्छ । गोपाल भट्ट सरले अहिलेसम्म शपथ लिइसक्नुभएको छैन । उनीहरू आएर पनि के नै गर्लान् र ? मुख्य काम त बजारमा माग बढाउने हुनुपर्थ्यो, जसले आपूर्तिलाई सम्बोधन गर्न सकोस् ।