ग्लोबल आइएमईको उद्यमशाला कार्यक्रमको खुल्यो आवेदन

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले देशमा उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रममार्फत उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्युबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनको सोच भएका व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो । बैंकको प्रधान कार्यालय कमलादी, काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उद्यमशाला कार्यक्रमको विधिवत् घोषणा गर्दै कार्यक्रमका लागि आवेदन खुला भएको घोषणा गरे । 

बैंकका अनुसार उद्यमशाला कार्यक्रमको मुख्य उद्देश्य नवप्रवर्तनको सोच भएका व्यक्तिलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायमा आबद्ध व्यवसायलाई दिगो र प्रतिष्ठित व्यवसाय बनाउन सैद्धान्तिक एवं व्यावहारिक ज्ञान, सिप तथा परामर्श प्रदान गर्नु हो । ‘लघु, साना तथा मझौला व्यवसायीहरूले भोग्नुपर्ने साझा चुनौतीलाई सम्बोधन गर्न बैंकले यो प्लाटफर्म तयार गरेको हो,’ सिइओ रेग्मीले भने, ‘सम्बन्धित क्षेत्रका विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकमार्फत सहभागीलाई व्यावहारिक ज्ञान र समस्या समाधानका उपायहरू प्रदान गरिनेछ ।’

उद्यमशाला कार्यक्रमअन्तर्गत बैंकले इन्क्युबेसन र दोस्रो एक्सिलेरेसन गरी दुईवटा ढाँचामा सहयोग गर्नेछ । इन्क्युबेसन कार्यक्रम नयाँ र नवप्रवर्तनकारी व्यावसायिक सोच भएका, तर उद्यमशीलताको यात्रा कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवालाई लक्षित गरी सञ्चालन गरिनेछ । यसअन्तर्गत उनीहरूको क्षमता अभिवृद्धि, व्यवसायको सञ्जाल विस्तार र मार्गनिर्देशन प्रदान गरिनेछ ।

त्यसैगरी, एक्सिलेरेसन कार्यक्रमअन्तर्गत हाल सञ्चालनमा रहेका, तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमीहरूलाई समेटिनेछ । यसअन्तर्गत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण र सरोकारवाला निकायसँगको पहुँचमा सहजीकरण गरिनेछ । यस कार्यक्रममार्फत सहभागीले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन प्रक्रिया, वित्तीय व्यवस्थापन र बैंक तथा वित्तीय संस्थासँगको पहुँचजस्ता महत्वपूर्ण विषयमा गहन व्यावहारिक ज्ञान प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।

सुझावित समाचार