क्षतिपूर्ति वितरणमा ढिलाइले कोशीका बर्डफ्लु किसान निराश

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण
  • गत चैतमा बर्डफ्लु संक्रमण नियन्त्रणका क्रममा क्षति भोगेका कृषकले ३७ करोड ३४ लाख ६५ हजार क्षतिपूर्ति पाउन बाँकी 

बर्डफ्लु संक्रमणको क्षतिपूर्ति पाउन ढिलो हुँदा कोशी प्रदेशका कुखुरापालक कृषकहरूले थप लगानी अभावका समस्या खेप्न थालेका छन् । समयमै क्षतिपूर्तिको पैसा नपाउँदा फार्ममा नयाँ चल्ला राख्ने र व्यवसाय विस्तार गर्ने कार्यमा कठिनाइ भइरहेको रामधुनी– ६ को सुनसरी पोल्ट्रीफार्मका सञ्चालक गंगाराम भट्टराईले गुनासो गरे ।

गत चैतमा फैलिएको बर्डफ्लु संक्रमण नियन्त्रणका क्रममा सरकारी पशु चिकित्सकले फार्ममा रहेका जिउँदो कुखुरा, अन्डा र दाना नष्ट गरेपछि त्यसबापत वितरण गर्नुपर्ने क्षतिपूर्ति पाउन ढिलाइ भएको उनले बताए ।

चैतमा झापा, मोरङ र सुनसरीमा बर्डफ्लु संक्रमण हुँदा किसानले करिब ५० करोड ३० लाखबराबरको क्षति भोग्नुपरेको छ । त्यसमध्ये जिउँदो कुखुरा नष्ट भएबापत मात्रै किसानले ३७ करोड ३४ लाख ६५ हजार क्षतिपूर्ति पाउन बाँकी छ । तर, संक्रमण नियन्त्रमा आएको तीन महिना पुगिसक्दा पनि कृषकले क्षतिपूर्ति प्राप्त गरिसकेका छैनन् । किसानको फार्मबाट नष्ट गरेका कुखुरा, अन्डा र दानाको सरकारले ८० प्रतिशत क्षतिपूर्ति दिने प्रावधान छ । कोशी प्रदेश कृषि मन्त्रालयको पशुपक्षी महाशाखाका अनुसार चैतमा फैलिएको बर्डफ्लु संक्रमणबाट भएको क्षतिबापत झापा, मोरङ र सुनसरीका कृषकलाई मात्र ३७ करोड ३४ लाख ६५ हजार रुपैयाँ राहत प्रदान गर्नुपर्नेछ । नियन्त्रणमा खटिएका कर्मचारीलाई पनि ४० लाख पाँच हजार पारिश्रमिक भुक्तानी गर्न बाँकी रहेको महाशाखाले जनाएको छ । 

‘क्षतिपूर्तिमा ढिलाइ हुँदा पुँजी अभावले नयाँ चल्ला हाल्न पाइएको छैन । फार्मको उत्पादन नै ठप्पझैँ भएको छ,’ भट्टराईले भने । कृषि फार्म चलायमान नहुँदा कर्मचारीदेखि मासु, अन्डा, दाना, क्रेट, कार्टुनलगायतको बिक्री र उत्पादनमा समेत असर पर्न थालेको उनले बताए । लेयर्स कुखुरापालक संघका केन्द्रीय सदस्य भट्टराईले भने, ‘कोभिड महामारीमा धराशायी बनेका हामी कृषकहरू बल्लतल्ल तंग्रिन थालेका थियौँ । फेरि बर्डफ्लुको महामारीले सतायो । अब सरकारले राहत वितरणमा पनि ढिलो गर्यो भने हामीलाई संकटमाथि संकट थपिनेछ ।’ 

लक्ष्मी पोल्ट्रीफार्मका सञ्चालक इटहरी– १७ का कृषक जुगलाल चौधरीले बर्डफ्लुको राहतमा ढिलाइ हुँदा बैंकको ऋण तिर्न र कर्मचारीलाई तलब दिन पनि नसकिरहेको बताए । उनले भने, ‘एकपछि अर्को महामारीको मारमा परेका हामी कुखुरापालक कृषकले चाँडै क्षतिपूर्ति नपाए पुँजीको अभाव भएर व्यवसाय छाड्न बाध्य हुनुपर्ने अवस्था छ ।’ 

क्षर्तिपूर्ति प्रदान गर्न सिफारिस
बर्डफ्लु संक्रमणबापतको क्षतिपूर्ति प्रदान गर्न जिल्ला समितिबाट संघीय सरकारको पशुसेवा विभागमा सिफारिस भइसकेको छ । अब विभागले मन्त्रालयको स्वीकृति पाएर बजेट प्राप्त भएपछि मात्र पीडित कृषकले क्षतिपूर्ति दिने जनाएको छ ।

प्रदेश कृषि मन्त्रालय पशुपक्षी महाशाखाकी भेटेरिनरी अधिकृत डा. दीपा दिवालीले बर्डफ्लुपीडित कृषकले क्षतिपूर्ति पाउन अझै समय लाग्ने बताइन् । उनका अनुसार बर्डफ्लु रोग नियन्त्रण नियमावली, २०७८ अनुसार बर्डफ्लु संक्रमणमा भएको क्षतिको राहत संघीय सरकारले नै प्रदान गर्दै आएको छ । नियमावलीमा प्रदेश सरकारले पनि रोग नियन्त्रण र क्षतिपूर्तिमा समन्वय गर्न सक्ने भनिए पनि बजेट विनियोजन नभएकाले प्रदेशबाट कृषकलाई क्षतिपूर्ति दिन नसकिएको उनको भनाइ छ ।

कोशीमा साढे तीन लाख कुखुरा नष्ट 
कोशी प्रदेश पशुपक्षी निर्देशनालयका अनुसार गत चैत महिनामा बर्डफ्लु संक्रमणबाट झापा, मोरङ र सुनसरी जिल्लामा तीन लाख ६९ हजार दुई सय ५४ वटा कुखुरा, ६ लाख दुई हजार एक सय २५ वटा अन्डा, एक लाख ५६ हजार आठ सय आठ केजी दाना, दुई लाख ८८ हजार चार सय २४ वटा क्रेट तथा ३७ हजार नौ सय १० वटा अन्डाका कार्टुन नष्ट भएका थिए । सबैभन्दा बढी क्षति सुनसरीमा भएको थियो । सुनसरीमा दुई लाख ६६ हजार दुई सय ११ वटा पक्षी, तीन लाख ८० हजार ५० वटा अन्डा र एक लाख २१ हजार सात सय पाँच केजी दाना नष्ट भएको थियो । 

सुझावित समाचार