चुनावी धक्का र एउटा समूहले पार्टी छाडेर हिँडेको चोट निको नहुँदै तथा २६ देखि २८ मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा फेरि अर्को लफडा सुरु भएको छ । नेताहरूबिचको पछिल्लो वाक्युद्धले घोषणा भएको, तर कार्यान्वयनमा आइनसकेको राप्रपा र राप्रपा नेपालबिचको एकीकरण नै संकटमा पुगेको छ ।
तत्कालीन महामन्त्री धवलशमशेर राणा नेतृत्वको एक समूहले २१ जेठमै पार्टी छाडेपछि बाँकी नेताहरूबिच नयाँ विवाद जन्मिएको हो । पूर्वअध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीको आधिकारिक लेटरप्याडमा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति कडा आलोचना गर्दै ७ असारमा विज्ञप्ति जारी गरेपछि राप्रपाभित्र नयाँ विवादको बिरुवा रोपिएको हो ।
पार्टीमा अध्यक्ष तथा तीनजना पूर्वअध्यक्ष रहेको स्टेरिङ कमिटी गठन गर्नुपर्ने र केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने पूर्वअध्यक्षत्रयको प्रस्तावलाई अध्यक्ष लिङ्देनले अस्वीकार गरेका छन् । यस्तै, राप्रपा नेपालका १३३ जनालाई राप्रपामा केन्द्रीय सदस्य बनाउनुपर्ने पूर्वअध्यक्ष थापाको माग पनि अध्यक्ष लिङ्देनले पूरा गरेनन् । त्यसपछि सांकेतिक विरोधस्वरूप राप्रपाको ५ र ६ असारमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा तीनजना पूर्वअध्यक्ष तथा उनीहरू निकटस्थ नेता अनुपस्थित थिए ।
उनीहरूले सांकेतिक विरोधस्वरूप बैठकमा सहभागी नभएको भन्दै ७ असारमा सामूहिक वक्तव्य जारी गरेका थिए । उनीहरूले आफूहरू पार्टी पनि नछाड्ने तर नेतृत्वको गतिविधिप्रति मूकदर्शक भएर बस्न नसक्ने भन्दै विज्ञप्ति निकालेका थिए । भोलिपल्ट ८ असारमा केन्द्रीय सचिवालय बैठकले उनीहरूको आलोचना गरेको थियो ।
पछिल्लोपटक पार्टीका पूर्वअध्यक्षत्रय थापा, राणा र लोहनीले आफूविरुद्ध घेराबन्दी गरेको र महाधिवेशन प्रभावमा पार्न लागेको अध्यक्ष लिङ्देन पक्षको आरोप छ । तर, लिङ्देनले पार्टीमा अधिनायकवादी कार्यशैली अपनाएको र अस्तित्व नै संकटमा पारेको अध्यक्षत्रयको दाबी छ ।
पार्टी सचिवालय प्रमुख एवं महामन्त्री राजेन्द्र गुरुङले पूर्वअध्यक्षत्रयलाई लक्षित गर्दै जारी विज्ञप्तिमा पार्टीको लेटरप्याड र छाप दुरुपयोग गरेको आरोप छ । ‘पार्टीको औपचारिक बैठकमा सहभागी नहुने, अलग्गै भेला, बैठक र छलफल गरी समानान्तर गतिविधि गर्ने, पार्टीबारे आमकार्यकर्ता र शुभेच्छुकहरूमा भ्रम पैदा गर्ने काम अविलम्ब रोक्न सम्बन्धित पक्षलाई सूचित गर्दछु,’ महामन्त्री गुरुङद्वारा जारी विज्ञप्तिमा छ ।
अर्का महामन्त्री भुवनकुमार पाठकले महाधिवेशनको मिति तय भइसकेपछि पार्टीमा विवाद सिर्जना गर्ने प्रयास दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे । ‘अब सबै विषयको निकास महाधिवेशनबाट निकाल्नुपर्छ । पार्टीको सबै पंक्ति महाधिवेशनमा तयार भएको अवस्थामा पार्टी एकताको वातावरण बिगार्ने प्रयास हुनुहुँदैन,’ पाठकले नयाँ पत्रिकासँग भने, ‘फुट कल्पना पनि गर्न सकिँदैन । एकता संकटमा छैन, तर वातावरण बिगार्ने काम सम्बन्धित कसैले पनि गर्नुहुँदैन ।’
राप्रपाले २६ देखि २८ मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । पूर्वअध्यक्षत्रयको वक्तव्यमा महाधिवेशनलाई समर्थन गरिएको छ । तर, पार्टीको लेटरप्याड र छाप प्रयोग गर्दै उनीहरूले अध्यक्ष लिङ्देनको नाम नलिई चर्को आलोचना गरेका छन् । पार्टीभित्र लामो समयदेखि बेथिति, संकुचित सोच र व्यवहार, विधि–विधान तथा स्थापित परम्पराविपरीत संस्थापन पक्षले गतिविधि गरेको र पक्षपातपूर्ण कारबाही गर्दै आएको उनीहरूको आरोप छ ।
लिङ्देनले ४ असारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा वर्तमान केन्द्रीय कार्यसम्पादन समितिले नै स्टेरिङ कमिटिको काम गर्ने भन्दै केन्द्रीय कार्यसमिति भंग गर्न नसकिने बताएका थिए । विधानले नचिन्ने स्टेरिङ कमिटी बनाउने प्रस्ताव स्वीकार्य नहुने संस्थापनको अडान छ । स्टेरिङ कमिटी गठन गरेर केन्द्रीय कार्यसमिति भंग गर्दा लिङ्देन अल्पमतमा पर्ने त्रास संस्थापनलाई छ ।
राप्रपाले ३ असारमा निर्वाचन आयोगमा जम्मा १९९ जना केन्द्रीय सदस्यको नामसूची पठाएको थियो, जसमा राप्रपा नेपालबाट न्यून संख्यामा परेकोमा थापा पक्ष असन्तुष्ट छ । समायोजन नसकिँदै विवाद सिर्जना गरेको भन्दै लिङ्देङ ‘यस्ता गतिविधि जारी रहेमा अध्यक्ष अब राप्रपा नेपालसँग एकता भंग गरेर जाने मुडमा रहेको’ निकट नेताहरूको दाबी छ । यद्यपि, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीको हकमा भने राप्रपाले केही नबोल्ने ती पदाधिकारीले बताए ।
पूर्वअध्यक्ष थापाले अघिल्लो महाविधेशनमा लिङ्देनसँग पराजित भएपछि २५ फागुन ०७८ मा पार्टी त्यागेका थिए । उनले राप्रपा नेपाललाई पुनर्संगठित गरेका थिए । थापाले राप्रपा नेपाललाई १६ पुसमा राप्रपामा एकता गराएका थिए । उनले निसर्त एकता गरेको घोषणा गरे पनि सर्तहरू राखेको संस्थापन पक्षको आरोप छ ।
समायोजन प्रक्रिया सम्पन्न नहुँदै यस्तो अडान राखेपछि राप्रपाले राप्रपा नेपालसँग एकता भंग गर्ने विषयमा छलफल थालेको छ । अध्यक्ष लिङ्देनले पदाधिकारीसँग बेग्लाबेग्लै अनौपचारिक छलफलमा अब एकता भंग गर्नुको विकल्प नभएको धारणा राखेका छन् । एक पदाधिकारीले भने, ‘कमल थापा सुध्रिनुभयो भन्ने थियो, उहाँले हामीलाई झनै अप्ठेरोमा पार्नुभयो । त्यसकारण उहाँसँगको एकता भंग गरेर जाने मुड बनाएको छु भनेर उहाँले सुनाउनुभएको छ,’ राप्रपाका एक पदाधिकारीले नयाँ पत्रिकासँग भने ।
थापानिकट एक नेताले भने अध्यक्ष लिङ्देन आफँ असुरक्षित महसुस गर्न थालेको टिप्पणी गरे । ‘अहिले हामीले के प्राप्त गर्न उहाँविरुद्ध घेराबन्दी गर्नुपर्ने हो ? उहाँसँग अहिले के छ ? तीनजना पूर्वअध्यक्षहरूले पार्टीलाई बृहत् रूपमा मिलाउनका लागि प्रयास गर्नुभएको हो । यसमा अध्यक्ष अनावश्यक रूपमा तर्सिनुभएको छ, त्यो जरुरी थिएन,’ राप्रपा नेपालका एक पदाधिकारीले भने । ती पदाधिकारीले अध्यक्ष लिङ्देनका कारण धवलशमशेरको समूह फुटेर गएको दाबी गरे ।
महामन्त्री पाठकले निर्धारित समयमा पार्टीको महाविधेशन हुने पनि बताए । राप्रपाका तत्कालीन महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा रहेका १८३ जना नेता–कार्यकर्ताको समूहले २१ जेठमा राप्रपा छाडेको घोषणा गरेको थियो । यो समूह पार्टी गठनको तयारीमा छ ।