आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया सुरु

६ प्रतिष्ठानमा पनि चाँडै उपकुलपति चयन गरिने

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण

झन्डै दुई महिनादेखि नेतृत्वविहीन रहेका आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढेको छ । तीमध्ये त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम शनिबारदेखि सुरु भएको छ । 

शिक्षा मन्त्रालयअन्तर्गत गठन गरिएको उपकुलपति छनोट तथा सिफारिस समितिले यो प्रक्रिया तीन–चार दिनमा सक्ने जनाएको छ । समितिले पूर्वनिर्धारित कार्यतालिकाअनुसार तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्यांकन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिरहेको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए । छनोट समितिले निष्पक्ष रूपमा काम गरिरहेको उनले दाबी गरे ।

त्यसबाहेक अन्य पाँच विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आइतबार र सोमबार हुनेछ । आगामी एक सातामा आठवटै विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया सकिने मन्त्रालयको दाबी छ ।

६ प्रतिष्ठानमा पनि चाँडै उपकुलपति चयन गरिने
सरकारले ल्याएको अध्यादेशसँगै पदमुक्त विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नहुँदा कामकारबाहीसमेत असर पर्ने गरेको छ । यसबाहेक ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि छिट्टै उपकुलपति छनोट गर्ने मन्त्रालयले जनाएको छ ।

हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति हुन सकेको छैन ।

यी प्रतिष्ठानहरूसँग मेडिकल शिक्षा मात्रै नभएर बिरामीको उपचार गर्ने जिम्मेवारीसमेत जोडिएको छ  । सरकारले यसअघि भएका नियुक्त खारेज गर्ने गरी अध्यादेश, २०८३ जारी गरेपछि प्रतिष्ठानका पदाधिकारीले राजीनामा दिएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार १६ जेठमै ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन फाराम संकलन गरिएको थियो । 

सुझावित समाचार