जर्मन नागरिक उवे लुकको नेपालसँगको सम्बन्ध आजभन्दा ५२ वर्षअघि, सन् १९७३ मा सुरु भएको हो । जर्मन भोलिन्टियर सर्भिसमार्फत स्वयंसेवकका रूपमा पहिलोपटक नेपाल आएका उनी त्यसवेलाको काठमाडौं र अहिलेको काठमाडौंबिच आकाश–जमिनको फरक देख्छन् ।
उनी सम्झन्छन्, ‘सन् १९७३ मा काठमाडौं ओर्लिंदा मलाई यो सानो गाउँजस्तै लागेको थियो । जाडोको समय थियो । त्यसवेला साँझ ५–६ बज्नासाथ सडक सुनसान हुन्थे । म डिल्लीबजारमा बस्थेँ र खाना खान सहरतिर जाँदा बाटोमा मुस्किलले एक–दुईवटा मोटर मात्रै देखिन्थे । अहिलेकोजस्तो भिडभाड, धुवाँधुलो र कोलाहल थिएन ।’
उनको अनुभवमा त्यतिवेला काठमाडौं उपत्यकामा पुराना घर प्रशस्तै भेटिन्थे । अहिले सिमेन्टका अग्ला भवन मात्र देखिन्छन्, सडक साँघुरिएका छन् । यही परिवर्तनले उनलाई नेपालको विकास र रूपान्तरण दुवैको अनुभूति गराएको छ ।
नेपालमा पहिलो चरणमा दुई वर्ष काम गरेपछि उनी जर्मनी फर्किए । तर, नेपालको मोहले उनलाई फेरि नेपाल नै फर्कायो । दोस्रो यसपटक उनी श्रीमतीसँगै आए । त्यसपछि उनी थप दुई–तीन वर्ष नेपालमा बसे । त्यो अवधिमा उनले खानेपानी, दूरसञ्चार र स्वास्थ्य क्षेत्रका विभिन्न आयोजनामा काम गरे । उनका छोरा काठमाडौंको सान्ता भवन अस्पतालमै जन्मिए । सन् १९८० तिर जर्मनी फर्किंदा उनी नेपाली भाषा धाराप्रवाह बोल्न सक्थे । उनको नेपालसँग गहिरोसँग नाता जोडिँदै गयो ।
नेपाली भाषा सिक्ने अनुभव पनि उनका लागि विशेष रह्यो । सुरुमा भाषा सिक्न कठिन होला भन्ने लागेको थियो, उनलाई । तर, छोटो तालिम र नेपाली परिवारसँगको बसाइले उनले छिटै भाषा सिके । उनले नेपाली समाज, संस्कार र भाषाको आत्मीय पक्ष बुझ्ने अवसर पाए ।
नेपालको मायाले उनलाई तानिरह्यो । नेपालका परम्परागत सिप, प्रविधि र हस्तकलाले उनलाई लोभ्यायो । त्यही मायाका कारण उनले सुरुमा नेपालबाट अलिअलि सामान किनेर जर्मनी लैजाने र बिक्री गर्ने थाले । दोस्रो बसाइ सकेर जर्मनी फर्किएपछि औपचारिक रूपमा नेपाली सामानको व्यापार सुरु गरे । उवे लुक विगत ५२ वर्षदेखि जर्मनीमा नेपाली हस्तकलाका सामग्री बिक्री गर्दै आएका छन् ।
लुकका अनुसार जर्मनीमा केही नेपाली हस्तकलाका सामानको माग राम्रो छ । जर्मनीमा नेपाली चिया मसला निकै लोकप्रिय उत्पादनमध्ये एक हो । यसको सुगन्ध, स्वाद र मौलिकताका कारण जर्मन उपभोक्तामाझ यसको माग राम्रो रहेको उनको अनुभव छ । नेपाली उत्पादनमध्ये सबैभन्दा बढी बिक्री हुने सामग्रीमध्ये यसले स्थान बनाएको छ ।
नेपाली परम्परागत लोक्ता कागजबाट निर्मित डायरी, कार्ड, फाइल तथा सजावटी सामग्री आज पनि जर्मन बजारमा उत्तिकै रुचाइन्छ । वातावरणमैत्री र हस्तनिर्मित भएकाले यस्ता उत्पादनले निरन्तर आफ्नो बजार कायम राख्न सफल भएको उनी सुनाउँछन् ।
लुकका अनुसार नेपालको काँस ढलोटको सिप र गुणस्तर विश्वस्तरकै छ । उनको अनुभवमा यो कला जर्मनीको भन्दा पनि उत्कृष्ट छ । नेपाली हस्तनिर्मित चाँदीका गहना पनि जर्मन बजारमा आकर्षणको केन्द्र बनेका छन् । मौलिक डिजाइन र सांस्कृतिक विशेषताका कारण यस्ता गहनाले विदेशी ग्राहकको मन जित्दै आएको उनको बुझाइ छ ।
परम्परागत प्रविधिबाट निर्माण गरिने सिंगिङ बाउलप्रति विदेशीको विशेष आकर्षण देखिन्छ । यसको सांगीतिक ध्वनि र ध्यान–योगमा प्रयोग हुने विशेषताले यसलाई अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बनाएको छ । उनका अनुसार नेपाली हस्तकलाका सामग्री विश्वमै विशिष्ट छन् । काँसका भाँडाकुँडा, ढाकाका कपडा, लोक्ता कागजका उत्पादन नेपाली सिर्जनशीलताको उत्कृष्ट उदाहरण हुन् । यद्यपि, सस्तो आयातित सामानको बढ्दो प्रभावका कारण नेपाली हस्तकलाको बजार चुनौतीमा परेको उनी बताउँछन् ।
यही कारण उनले परम्परागत सिप संरक्षणमा पनि योगदान दिइरहेका छन् । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान हराउन नदिने उनको जोड छ । उवेले यस परम्परागत सिपको संरक्षण र प्रवर्द्धनका लागि यसको निर्माण प्रक्रियामाथि डकुमेन्ट्रीसमेत तयार गरेका छन् ।
विगतमा नेपाली हाते तानबाट बुनेका कपडा, गलैँचा तथा विभिन्न हस्तनिर्मित सामग्रीको जर्मनीमा निकै राम्रो बजार थियो । त्यस्तै, खुकुरी तथा दमाहा, सहनाईजस्ता परम्परागत वाद्यवादनका सामग्रीप्रति पनि विदेशीको चासो र रुचि देखिने गरेको छ ।
यद्यपि, पछिल्ला वर्षमा सस्तो चिनियाँ उत्पादनको बढ्दो उपस्थिति र उपभोक्ताको बदलिँदो रुचिका कारण केही नेपाली हस्तकलाका सामग्रीको माग पहिलेको तुलनामा घटेको उनी बताउँछन् ।
नेपालका परम्परागत सिप, प्रविधि र हस्तकलाप्रति उनको विशेष लगाव छ । विशेषगरी ‘माना’ र ‘पाथी’जस्ता परम्परागत नापतौल प्रणालीले उनलाई सधैँ आकर्षित गर्यो । उनले पुरानो एउटा पाथीसमेत संग्रहमा राखेका छन् । उनी भन्छन्, ‘माना–पाथी केवल नाप्ने साधन होइनन्, ती नेपाली सभ्यता र सिपका प्रतीक हुन् । यस्ता मौलिक परम्परा हराउँदै जानु दुःखद् विषय पनि हो ।’ विशेषगरी काँसबाट बनाइने माना, पाथीजस्ता परम्परागत सामग्री केवल उपयोगी वस्तु मात्र नभई नेपाली संस्कृति र इतिहासका जीवन्त प्रतीक हुन् । यिनै सामग्रीले जर्मनीमा नेपाललाई चिनाउने महत्वपूर्ण माध्यमको भूमिका खेलेको उनको भनाइ छ ।
नेपालको विकासलाई उनी सकारात्मक रूपमा हेर्छन् । उनका अनुसार पहिले काठमाडौं–पोखरा सडक नै ठुलो उपलब्धि मानिन्थ्यो । अहिले देशका धेरै दुर्गम ठाउँसम्म सडक पुगेका छन् । तर, विकाससँगै केही चिन्ताजनक पक्ष पनि देखिएको उनको अनुभव छ । ‘आज गाउँमा वृद्धवृद्धा मात्रै बाँकी छन्, युवा विदेश गएका छन् । खेतबारी बाँझो रहन थालेका छन् । यो देख्दा चिन्ता लाग्छ,’ उनी भन्छन् ।
कृषिको सन्दर्भमा पनि उनी नेपालले आफ्नो मौलिकता गुमाउँदै गएको सुनाउँछन् । सन् १९७३ मा आफूले देखेको नेपालमा अधिकांश खेतीपाती प्राकृतिक र अर्ग्यानिक थियो । पछि रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदा त्यो परम्परा कमजोर भएको उनको बुझाइ छ । त्यसैले नेपालले फेरि अर्ग्यानिक खेतीतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ ।
नेपालमा भ्रष्टाचार अझै चुनौतीका रूपमा रहेको उनको टिप्पणी छ । तर, नयाँ पुस्ताले भ्रष्टाचारविरुद्ध आवाज उठाउन थालेको देख्दा उनी आशावादी छन् । ‘नेपालमा काम गर्दा कहिलेकाहीँ प्रशासनिक जटिलता देखिए । तर, नेपालीको आत्मीयता, सद्भाव र यहाँको वातावरणले मलाई सधैँ आकर्षित गरिरह्यो,’ उनी भन्छन् ।
लुकका लागि नेपाल केवल एउटा देश होइन, जीवनको अर्को अध्याय पनि हो । पाँच दशकभन्दा लामो समयदेखि उनी नेपालसँग जोडिएका छन् । जर्मनीमा उनले ‘नेपाल बजार’ निर्माण गरेका छन् । नेपाली कला, संस्कृति र उत्पादनलाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराइरहेका छन् ।
उनको चाहना छ, नेपाल आधुनिकताको यात्रामा अघि बढे पनि मौलिक परम्परा, संस्कृति, हस्तकला र ज्ञानलाई कहिल्यै नबिर्सियोस्, यही मौलिकतामै नेपालको वास्तविक शक्ति र सुन्दरता रहेको उनी विश्वास गर्छन् ।