कोशी सरकारले अघिल्लो वर्ष १८ र १९ वैशाखमा सम्पन्न गरेको लगानी सम्मेलनको उपलब्धिका रूपमा चारवटा परियोजनाको मात्र लगानी स्वीकृत भएको छ । स्वदेशी तथा विदेशी लगानीकर्ता भेला गरेर देशमै पहिलोपटक आयोजना गरिएको प्रथम प्रदेश लगानी सम्मेलनमा एमओयू (समझदारी) भएका निजीतर्फका १९ र सार्वजनिक–निजी साझेदारीका ३२ परियोजना स्वीकृत भएका थिए । कुल एक खर्ब ५७ अर्बबराबर लगानीका ५१ परियोजनामध्ये एक वर्षमा चारवटा परियोजनाको मात्र परियोजना विकास सम्झौता (पिडिए) सम्पन्न भएर लगानी स्वीकृत भएको हो ।
कोशी प्रदेश लगानी प्राधिकरणको सम्पन्न ३३औँ बैठकले सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणाअन्तर्गत निर्माण हुने गरी समझदारी भएका दुई अर्ब आठ करोड ५३ लाख रुपैयाँबराबरको लगानी स्वीकृत गरेको छ ।
लगानी स्वीकृत भएका परियोजनामा सुनसरीको दुहबी–४ मा ५५ करोड ९५ लाख लागतको फोहोरमैला व्यवस्थापन र दुहबीकै वडा नम्बर ४ र १० मा ३४ करोड लगानीमा निर्माण हुने मल्टी चेम्बर एन्ड कोल्ड स्टोरेज एग्रो प्रोसेसिङ छन् । यी आयोजना क्रमशः रिभाइभ इन्फ्राटेक एन्ड इन्भेस्टमेन्ट र दीर्घायु एग्रो एन्ड इन्भेस्टमेन्टले निर्माण गर्नेछन् ।
त्यसैगरी, रामपुर बहुउद्देशीय कृषि फार्म कम्पनीले उदयपुरको बेलका– ९ मा २० करोड लगानीमा फोहोरमैला व्यवस्थापनसहित मल कारखाना र पशुपालन परियोजना सञ्चालन गर्नेछ । सुनसरीको रामधुनी– ७ स्थित रासताल क्षेत्रको पूर्वाधार विकास र सञ्चालनका लागि अर्बान एक्सप्लोरर प्रालिलाई ९८ करोड ५८ लाख रुपैयाँ लगानीको अनुमति दिइएको छ ।
लगानी स्वीकृत भएका परियोजनाको सम्झौता चालू आर्थिक वर्ष ०८२/८३ भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । उनले भने, ‘बोर्डबाट चार परियोजनाको लगानी स्वीकृत भइसकेको छ, अब चालू वर्षभित्रै परियोजना विकास सम्झौता (पिडिए) पनि द्रुत गतिमा सम्पन्न गराउनेछौँ ।’
उनका अनुसार विराटनगरको रानीदेखि बसपार्कसम्मको क्षेत्रमा करिब ६ अर्बको लगानीमा चार करोड ५१ लाख अमेरिकी डलर लगानीको पोडवे निर्माण गर्न काठमाडौं पोडवे कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन तयार पार्न सम्भाव्यता अध्यनका लागि प्राधिकरण बोर्डले अनुमति दिइसकेको छ ।
लगानी सम्मेलन हुनुअगाडि नै निजी क्षेत्रबाट धनकुटाको भेडेटारमा सञ्चालनमा आइसकेको ‘भेडेटार स्काई वाक’को सफल सञ्चालनलाई पनि कोशी प्रदेश लगानी प्राधिकरणले मुख्य उपलब्धि मानेको छ । कार्यकारी निर्देशक कोइरालाका अनुसार ‘भेडेटार स्काई वाक’ कोशी प्रदेशकै पहिलो सार्वजनिक–निजी साभेदारी सफल परियोजना हो । आर्थिक वर्ष ०८१/८२ मा सम्झौता भएको उक्त स्काइवाकले हाल संघ, प्रदेश र पालिकालाई वार्षिक एक करोड ५० लाख रुपैयाँ राजस्व आम्दानी गरिरहेको छ । जसबाट कोशी प्रदेशलाई मात्र ४० लाख प्राप्त भइरहेको छ ।
कार्यकारी निर्देशक कोइरालाका अनुसार प्राधिकरणले ग्रिन हाइड्रोजन, बायोइथानोल, लिम्चुङबुङ परियोजना र गुप्तबराह मोनोरेलजस्ता योजनामा लगानीको सम्भाव्यता खोजी गरिरहेका लगानीकर्तासँग समन्वय गरिरहेको छ । ऊर्जा उत्पादनको लगानीका लागि पनि आवश्यक नियमावली बनाउने क्रम सुरु भइसकेको छ ।
कोशी प्रदेश सरकारले प्राधिकरण स्थापना गरेको सात वर्ष लागेको छ । प्राधिकरण स्थापना भएलगत्तै दुई वर्ष कोभिडको महामारीले काम हुन सकेन । त्यसपछि पनि निरन्तर आठवटा सरकार परिवर्तन भइरहँदा मुख्यमन्त्रीको अध्यक्षतामा रहने प्राधिकरण बोर्डको सञ्चालनमा पनि प्रत्यक्ष प्रभाव पर्यो ।