बुढानीलकण्ठस्थित टुंगरम विद्यालयको विवादमा अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई शुक्रबार पक्राउ गरेको हो।
शेर्पा सो विद्यालयका पूर्वसञ्चालक हुन्। विवादपछि उनी बाहिरिएका थिए। विद्यालयका सञ्चालक रहेका टुंगरम ग्याल्टुङ रिम्पोचे शेर्पाले अनियमितताको आरोप लगाएर प्रहरीमा उजुरी दिएका थिए। व्यक्तिगत विवाद भन्दै त्यसवेला सिआइबीले जाहेरी लिएको थिएन । रिम्पोचेका प्रतिनिधि बनेका रामचन्द्रबहाला श्रेष्ठको उजुरीमा उनी पक्राउ परेका हुन्। सिआइबीको विज्ञप्तिअनुसार उनले आठ करोड ७८ लाख ठगी गरेको उजुरी परेको छ।
सो विद्यालयको हदबन्दीभन्दा धेरै जग्गा बिक्री गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। विद्यालयका मुख्य सञ्चालक रिम्पोचेलाई बयानमा बोलाएकोमा उनी उपस्थित भएका छैनन्। अख्तियारले छानबिन थालेपछि उनी विदेश गएका थिए।