तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेस महामन्त्रीको माग

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा ठुलो अन्तरले गिरावट आएकाले पेट्रोलियम पदार्थको भाउ तत्काल घटाउनुपर्ने बताएका छन् ।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम विन्दु ११७.६३ प्रतिब्यारेलबाट घटेर ६९.२१ मा आइपुग्दा करिब ३० प्रतिशतले भारी गिरावट आइसकेको देखिन्छ । यति ठुलो मात्रामा भाउ घटिसक्दा पनि नेपाली उपभोक्ताले भने अझै पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु निकै दुःखद छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आमनागरिकले सहजै पाउनुपर्ने होइन र ?’

आयल निगमले प्रशोधन शुल्क नघटेको कारण देखाउँदै मूल्य घटाउन नखोज्नु उपयुक्त नभएको पनि उनको भनाइ छ । ‘कच्चा र प्रशोधित तेलको मूल्य समायोजनमा प्रशोधन खर्च र केही दिनको समयअन्तर अवश्यक पर्छ । तर, कच्चा तेलको मूल्यमा आएको यति ठुलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा पक्कै घटाउँछ,’ उनले भने ।

मूल्यमा गिरावट आएको लामो समय बितिसक्दा पनि मूल्य घटिरहेको वास्तविक सूचनासमेत नदिई, तथ्य लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाउँदै मूल्य नघटाउँदा आमउपभोक्ता थप मारमा परेको उनको भनाइ छ । सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लंग पारेको उनले बताए । 

त्यस्तै, उपभोक्ता अधिकारकर्मी, माधव तिमिल्सिनाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको लाभ तुरुन्तै नेपाली उपभोक्ताले पाउने गरी इन्धनको भाउ घटाउनुपर्ने बताए । ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नासाथ नेपालमा बढाइहाल्ने, तर घटेका वेला भने अनेकौँ बहाना झिक्ने प्रवृत्ति ठिक होइन,’ उनले भने, ‘बढ्दो महँगीले आक्रान्त उपभोक्तालाई तत्काल राहत दिन आयल र सरकारले मूल्य घटाइहाल्नुपर्छ ।’ विगतमा मूल्य बढाउन सरकारले जसरी हस्तक्षेप गरेको थियो, अहिले मूल्य घटाउन पनि सरकार क्रियाशील हुनुपर्ने उनको माग छ ।
 

सुझावित समाचार