कामना सेवा विकास बैंक लिमिटेडले झापाको एक विद्यालयलाई कुलर तथा ब्रेल पेपर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बिर्तामोड– ९ स्थित श्री दुर्गा माध्यमिक विद्यालयको दृष्टिविहीन छात्रावासका लागि कुलर र ब्रेल पेपर उपलब्ध गराएको हो ।
एक कार्यक्रमबिच बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई उक्त सामग्री हस्तान्तरण गरे । दृष्टिविहीन विद्यार्थीको अध्ययन–अध्यापन र छात्रावास व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार गर्मी मौसममा छात्रावासभित्रको वातावरणलाई सहज र आरामदायी बनाउन कुलर उपयोगी हुने विश्वास गरिएको छ । त्यसैगरी, दृष्टिविहीन विद्यार्थीको पठनपाठनका लागि अत्यावश्यक मानिने ब्रेल पेपरले उनीहरूको सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
सामग्री ग्रहण गर्दै प्रधानाध्यापक सापकोटाले बैंकको सहयोगप्रति आभार व्यक्त गरे । उनले प्राप्त सामग्रीले विद्यार्थीको शैक्षिक गतिविधि र छात्रावास सञ्चालनमा सकारात्मक योगदान पुग्ने बताए । भुसालले शिक्षा, सामाजिक विकास तथा समुदायका आवश्यकतालाई बैंकले सम्बोधन गर्दै आएको बताए ।