- बिहीबार प्रधानमन्त्री कार्यालयमा सचिवालयसँग चिया उद्यमीले करिब तीन घण्टा वार्ता गरेपछि बन्द उद्योग खोल्ने सहमति
भारतले नेपाली चिया निर्यातमा निरन्तर अवरोध गरेपछि बन्द भएका झापा र इलामका चिया उद्योग खुलेका छन् । उत्पादित चिया गोदाममै अड्किन थालेपछि इलामका ५३ र झापाका ३६ वटा चिया उद्योग बन्द भएका थिए । परीक्षणको नाममा भारतीय टी बोर्डले पटक–पटक अवरोध गर्दा अहिले चिया निर्यातमा समस्या देखिएपछि उद्योग बन्द भएका थिए । नेपाल चिया उत्पादक संघ र इलामको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले बिहीबारबाट चिया उद्योग खोल्ने निर्णय गरेका हुन् । इलामका चिया उद्योग १ असारबाट र झापाका चिया उद्योग ४ असारबाट बन्द गरिएको थियो । सिजनमा चिया उद्योग बन्द हुँदा किसान मर्कामा परेको भन्दै एसोसिएसनले खोल्ने निर्णय गरेको हो ।
भारतीय चिया बोर्डले १ मेदेखि नयाँ मापदण्डको नाममा लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) नेपालबाट निर्यात हुने चियाको गुणस्तर जाँच अनिवार्य गरेको थियो । भन्सारमा र टी बोर्डले दोहोरो परीक्षण गर्दै आएका छन् । परीक्षणको प्रतिवेदन आउन दुई संस्थाबाट फरक–फरक समय लाग्ने भएका कारण भारत पठाएका चिया फिर्तागर्नुपर्ने वा नष्ट गर्नुपर्ने अवस्था आएपछि अहिले चिया निर्यात ठप्प छ । तर, १९ मेमा भारतको टी बोर्डले सूचना जारी गर्दै आन्तरिक खपत हुने चियालाई भने केही खुकुलो गरेको थियो । एसओपी संशोधन गरेपछि ‘र्यान्डम’ नमुना संकलन गरेर परीक्षण गर्ने गरी नयाँ नियम ल्याएको थियो । नेपाली चियालाई भारतले आन्तरिक खपतमै राखे पनि पुनः अवरोध खडा गरेको थियो । सरकारसँगको निरन्तर वार्तापछि चिया उद्योगीहरू उद्योग खोल्न सहमत भएका हुन् । सरकारले चिया क्षेत्रमा देखिएको समस्याप्रति चासो देखाएको र दीर्घकालीन समाधान खोज्न उच्चस्तरीय कार्यदल बनाएकाले बिहीबारबाट उद्योग खोल्ने निर्णय गरिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले जानकारी दिए ।
‘सरकारले सकारात्मक कुरा गरेको छ । त्यही भएर हामीले बन्द गरेका चिया उद्योग खोल्ने निर्णय गरेका हौँ,’ उनले भने, ‘बल्ल उद्योग खुलेका छन् । केही दिनपछि भारत निर्यात हुन्छ । त्यो वेला अवरोध हुँदैन भन्ने आशा राखेका छौँ ।’
बिहीबार प्रधानमन्त्री कार्यालयमा सचिवालयसँग चिया उद्यामीले करिब तीन घण्टा वार्ता गरेपछि बन्द भएको उद्योग खोल्ने सहमति भएको हो । चियाको समस्या समाधान गर्न सरकारले कार्यदलसमेत गठन गरिसकेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय टिमसँग सकारात्मक कुरा भएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कट्टेलले जानकारी दिए । ‘प्रधानमन्त्रीको टिमसँग कुरा गर्दा सकारात्मक कुरा आएको छ । चियामा देखिएको समस्या समाधान गर्छौं भन्नुभएको छ । भारत निर्यातमा पनि सोमबारपछि केही हुन्छ भन्नुभएको छ । यसले हामीलाई आशावादी बनाएको छ,’ उनले भने, ‘उहाँहरूले हामीलाई गुणस्तरीय चिया उत्पादन गर्नुहोस्, बजारको जिम्मा सरकारले लिन्छ भन्नुभएको छ । यसले हामीलाई उत्साहित बनाएको छ ।’
नेपाल चिया उत्पादक संघले प्रधानमन्त्री कार्यालयमा बुझाएको मागपत्रमा प्रधानमन्त्री कार्यालयले चिया क्षेत्रमा देखिएको समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै यथाशीघ्र कूटनीतिक तथा प्रशासनिक पहल थाल्ने आश्वासन आएकाले उद्योग खोलिएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्यराज पराजुलीले जानकारी दिए ।