राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन कार्यतालिका पुनः संशोधन भएको छ। पाँचौँपटक संशोधित कार्यतालिकाअनुसार निर्वाचन आज राति सवा ९ बजे मात्रै सुरु हुनेछ।
पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदान अझै जारी रहेकाले पदाधिकारीको मतदानको समय पनि सरेको हो। अपराह्न ४ बजेदेखि पदाधिकारी चयन प्रक्रिया औपचारिक रूपमा सुरु हुने भनिएकामा अहिले पनि प्रवासबाट प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।
संशोधित कार्यतालिकाअनुसार बेलुकी ६ः३० बजेदेखि ७ बजेसम्म पदाधिकारी वितरण तथा दर्ता हुनेछ। ७ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, ८ बजेसम्म दाबी विरोध, ८ः३० बजेसम्म नाम फिर्ता, ८ः४५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र ९ः१५ देखि १२ः१५ बजेसम्म मतदान प्रक्रिया चल्ने उल्लेख छ।
उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री चयनका लागि निर्वाचन हुनेछ। नेता मनीष झाका अनुसार ६ पदाधिकारीलाई मतदान गर्न एकजना प्रतिनिधिलाई चारदेखि पाँच मिनेट लाग्ने अनुमान छ।