- अन्य विमानस्थलले चलाए पनि गौतम बुद्ध विमानस्थलले पाएका दुई बस एसी बिग्रिएपछि अलपत्र
बुद्ध जन्मस्थल लुम्बिनीको प्रदूषण नियन्त्रण र पर्यटकलाई सहज यात्राका लागि भन्दै एसियाली विकास बैंक (एडिबी)को सहयोगमा क्लिन इनर्जी परियोजनामार्फत १२ करोड अनुदानमा पाँच विद्युतीय बस र १४ भ्यान ०७७ मंसिरमा नेपाललाई निःशुल्क उपलब्ध भयो । तर, लुम्बिनी विकास कोषले सहयोग प्राप्त भएको साढे ६ वर्षसम्म पनि बस चलाउन सकेन, बरु अहिले पाँचवटा बस गौतम बुद्ध, नेपालगन्ज, सुर्खेत र धनगढी विमानस्थल पठाइएको छ ।
पर्यटन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले लामो समय थन्किएर बसेका बस विमानस्थलमा पठाइएको बताए । ‘बस थन्किएर बसेका थिए । विमानस्थलमा सटल बसका रूपमा प्रयोगमा ल्याइएको हो,’ आचार्यले भने, ‘नेपालगन्ज, सुर्खेत र धनगढी विमानस्थलमा एउटा–एउटा बस चलिरहेका छन् । नागरिकका सेवाका लागि भनेर त्यहाँ पठाइएको हो ।’ दुई बस भने भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा थन्किएका छन् । विमानस्थल प्रमुख श्यामकिशोर शाहका अनुसार सटल बसका लागि मन्त्रालयबाट दुईवटा बस प्राप्त भएको थियो । ‘तर, एसी बिग्रिएको रहेछ । यी विद्युतीय बसका झ्याल खोल्न मिल्दैन । यहाँको तापक्रम ४० डिग्री सेल्सियस छ । एसीविना यी बस चलाउन सकिने अवस्था छैन,’ उनले भने, ‘अब एसी जडान गरेर चलाउँछौँ ।’
ती पाँच बस सुरुमा सेतो (सरकारी) नम्बर प्लेटमा रहेका थिए । यातायात कानुनअनुसार सेतो प्लेटका गाडीले व्यावसायिक रूपमा यात्रु र पर्यटक ओसारपसार गर्न मिल्दैन । यसलाई हरियो प्लेट (पर्यटक सवारी)मा रूपान्तरण गर्न संघ र प्रदेश सरकारका यातायात कानुनी बाधाहरू बाधक बनेपछि लामो समय गाडीहरू थन्किए ।
पछिल्लो समय कानुनी रूपमा नम्बर प्लेटको समस्या समाधान भए तापनि लुम्बिनी विकास कोषले बसको नियमित मर्मत र सञ्चालन खर्च व्यहोर्न नसक्ने अवस्था आएपछि गाडी पार्किङमै थन्किएका थिए । प्रधानमन्त्री कार्यालयले गत चैतमा ‘गाडी सञ्चालन गर्ने भए तत्काल गर्नु, नत्र फिर्ता गर्नु’ भनी निर्देशन दिएपछि कोषले बस मन्त्रालयलाई बुझाएको लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव ज्ञानिन राईले बताए । ‘मन्त्रालयले बस लगेपछि अब हामीसँग रहेका भ्यान सञ्चालनका लागि पहल भइरहेको छ,’ उनले भने, ‘चल्न लायक भ्यान भाडामा सञ्चालन गर्न दिने गरी स्थानीय तहँग समन्वय भइरहेको छ । छिट्टै निर्णयमा पुग्छौँ ।’
एडिबीले झन्डै १२ करोड रुपैयाँको लागतमा पाँचवटा बस र १४ वटा भ्यान कोषलाई उपलब्ध गराएको थियो । यसका साथै ती गाडी चार्ज गर्नका लागि झन्डै १४ करोड रुपैयाँको लागतमा सौर्य ऊर्जा केन्द्रसमेत निर्माण गरिएको थियो । कुल २६ करोड रुपैयाँभन्दा बढीको यो महत्वाकांक्षी आयोजना सरकारी निकायको समन्वय अभाव र कोषको गैरजिम्मेवारपनका कारण असफल बन्न पुगेको छ । जसले अन्तर्राष्ट्रिय दातृ निकाय माझसमेत नेपालको छवि धुमिल बनाएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा आउने पर्यटकलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यका साथ एसियाली क्लिन इनर्जी फन्डको सहयोगमा बस प्राप्त भएका थिए ।
अनुदानकै १४ विद्युतीय भ्यान अझै खुला चौरमा
एडिबीले नै अनुदानमा दिएका १४ विद्युतीय भ्यानको अवस्था झन् दयनीय छ । तीमध्ये लुम्बिनी विकास कोषपरिसरमा ६, कर्मचारी क्वार्टरमा चार तथा पार्किङस्थल र ग्यारेजमा दुई–दुईवटा छन् । गुड्न सक्ने अवस्थाका भने ६ भ्यान मात्रै छन् । यी भ्यान कोषका पदाधिकारी र कर्मचारीले व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गरेको स्रोत बताउँछ । उनीहरूले चलाउने क्रममा टायर बिग्रिएपछि थन्किएका गाडीबाट झिकेर फेर्ने गरेका छन् । जसका कारण कतिपय भ्यान इँटाको टेकोमा चौरमा अलपत्र देखिन्छन् । यसअघि गाडी सञ्चालनका लागि तत्कालीन कोषाध्यक्ष ढुण्डीराज भट्टराईको संयोजकत्वमा गठित कार्यदलले भाडा दररेट, बुकिङ प्रणाली र सञ्चालन मस्यौदा कार्यविधि तयार गरी तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई प्रतिवेदन बुझाए पनि सञ्चालन भने हुन सकेन ।