नेकपा एमालेले महाधिवेशनमा बोलाएर रास्वपाले आफ्ना नेताको हुर्मत लिएको भन्दै दु:ख व्यक्त गरेको छ। संसदीय दलको बैठकपछि प्रमुख सचेतक ऐन महरले अतिथि बोलाएर अपमानित गरिएको प्रतिक्रिया दिए।
‘अतिथिलाई सम्मान गर्ने, बोलाएका पाउनालाई देउतासरह व्यवहार गर्ने भन्ने हुन्छ। तर, त्यहाँ बोलाएर नेकपा एमालेका नेता प्रदीप ज्ञवालीको हुर्मत लिने हर्कत भयो,’ उनले भने।
महरले नाम उल्लेख नगरी रास्वपा सांसद खगेन्द्र सुनारको अभिव्यक्तिमा समेत आपत्ति जनाए। उनले भने, ‘त्यसका केही जिम्मेवार मान्छेहरूले अझै आगोमा घिउ थप्ने गरी अपमान गर्नुभएको छ, त्यसप्रति म दु:ख व्यक्त गर्न चाहन्छु। त्यो उहाँहरूको संस्कारको कुरा हो।’
दुईतिहाइ ल्याएको पार्टीले सुसंस्कार निर्माण गर्ने कुरामा पनि ध्यान दिनुपर्ने उल्लेख गर्दै महरले रास्वपा फरक कुरा गर्नेहरूमाथि जाइलाग्नु दुखद रहेको बताए।