लुम्बिनीमा सत्तापक्षकै सांसद बजेटको विरोधमा

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

लुम्बिनी प्रदेशमा सत्ता पक्षकै सांसदहरूले बजेटको विरोध गरेका छन्। बजेट मुख्यमन्त्री र मन्त्री केन्द्रित भएको भन्दै सत्तापक्षसहित विपक्षी दलका सांसदहरूले  विरोध जनाएपछि प्रदेश सभा बैठक स्थगित भएको छ।

बैठक सुरु भएलगत्तै सभामुख तुलाराम घर्तीमगर कार्यसूचीमा प्रवेश गर्न खोजेका थिए। तर, प्रदेश सभाका केही सदस्यहरूले उभिएर विरोध जनाएपछि सहमतिका लागि भन्दै आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ।

सभाको बैठकमा कांग्रेसका बसीउद्दिन खाले ‘जहाँ जहाँ मन्त्री, त्यहाँ त्यहाँ बजेट भएपछि सत्तापक्ष, प्रतिपक्ष भन्ने नै रहेन’ भन्दै बजेटमा असहमति राखे। यसरी जनतालाई ठग्न नपाइने भन्दै उनले माग सम्वोधन नभएसम्म सदन चल्न नदिने अडान सुनाए। त्यस्तै, कांग्रेसकै भुवनेश्वर चौधरी, राजमो सांसद तारा थापा, नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्रकुमार पुनमगर, जनमत पार्टीका चन्द्रकेश गुप्तालगायतले बजेटको विरोध गर्दै बैठक अगाडि बढ्न नसक्ने बताए।

बैठकको सुरुमा सभामुख घर्तीमगरले विषयगत समितिका सदस्यहरु हेरफेर भएकोबारे जानकारी गराएका थिए। त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष ०८३/०८४ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सो प्रस्ताव पेस भएपछि बैठक अगाडि बढाउन सभामुखले प्रयास गर्दा सांसदहरूले विरोध जनाएका हुन्।

सुझावित समाचार