रुपन्देही व्यापार संघअन्तर्गतको औषधि वस्तुगत उपसमितिको आयोजनामा पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी एकदिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ । सोमबार संघको सचिवालयमा महिला व्यवसायी तथा स्थानीय महिलाहरूमा बढ्दो स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले व्यापारिक हकहितको संरक्षणसँगै सामाजिक र स्वास्थ्य क्षेत्रमा पनि संघ उत्तिकै जिम्मेवार रहेको बताए । महिलाहरूको स्वास्थ्य नै परिवार र व्यवसायको मेरुदण्ड भएकाले क्यान्सरजस्तो घातक रोगबारे समाजमा लुकेर रहेका भ्रम चिर्न आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष ढकालले समयमै स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्न यस्ता कार्यक्रमले ठुलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर शिला ढकालले पाठेघरको मुख र स्तन क्यान्सरका लक्षण, रोकथामका उपाय तथा प्रारम्भिक पहिचानको महत्त्वबारे कार्यपत्र प्रस्तुत गर्दै क्यान्सर रोग सुरुवाती अवस्थामै पहिचान हुन सकेमा निको हुने बताइन् ।