मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १८, सुकौरा घट्टेखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार राति करिब ११:३० बजे हेटौँडा– १८ मानेडाँडाका ३७ वर्षीय कुमार लोप्चनको करेन्ट लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार लोप्चनले हेटौँडा– १८ स्थित ४० वर्षीय प्रेम गोम्बाको घरमा कोही नभएको अवस्थामा घरबाट विद्युत् लाइन तानेर घट्टेखोलामा माछा मार्ने प्रयास गरेका थिए । सो क्रममा प्रयोग गरिएको तार सर्ट भई उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी ठुलोदमारबाट प्रहरी सहायक निरीक्षक हिरामनप्रसाद यादवको कमान्डमा टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थललाई सुरक्षित राख्दै आवश्यक प्रारम्भिक अनुसन्धान सुरु गरिएको जनाएको छ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा वैज्ञानिक अपराध अनुसन्धान टोलीसहितको प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
प्रहरीले विद्युत् प्रयोग गरी माछा मार्ने कार्य गैरकानुनी र अत्यन्त जोखिमपूर्ण भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ । मृतकको शव सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।