कुकुर, बिराला, बाँदरजस्ता जनावरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउन अस्पताल धाउने बिरामी बढेका छन्, तर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुबाहेक सरकारी अस्पतालमा उक्त खोप दुई महिनादेखि अभाव छ । यति मात्रै होइन, गर्मी र बर्खा लागेसँगै सर्पको जोखिम बढिरहेका वेला देशभरका प्रादेशिक र जिल्ला अस्पतालमा सर्पदंशको भ्याक्सिन (एन्टिस्नेक भेनम) पनि हाहाकार छ । जबकि रेबिज लागेको जनावर र सर्पले टोक्दा जतिसक्दो खोप नलगाए बिरामीको ज्यानै जान्छ ।
उपत्यकाबाहिरका धेरै सरकारी अस्पतालले रेबिजविरुद्धको भ्याक्सिन छैन भनेर टेकु अस्पतालमा रेफर गरिरहेका छन् । उक्त अस्पतालका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार गत वैशाखदेखि नै यस्तो अवस्था देखिएको छ ।
‘उपत्यकाबाहिरका धेरै सरकारी अस्पतालले रेबिजविरुद्धको भ्याक्सिन छैन भनेर हामीकहाँ रेफर गरिरहेका छन्, देशका टाढा–टाढाबाट पनि जिल्लामा खोप पाइएन भन्दै आइरहेका छन्,’ उनले भने, ‘यो अवस्था केही दिनदेखि मात्रै होइन, गत वैशाखदेखि नै छ । पछिल्ला दिन बिरामीको भिड बढिरहेको छ ।’
रेबिज लागेको जनावरले टोकेपछि जतिसक्दो छिटो रेबिजविरुद्धको भ्याक्सिन दिइएन भने बिरामीको ज्यान असुरक्षित हुन्छ । बिरामीमा रेबिजको लक्षण देखिनुअघि उपचार सम्भव हुन्छ, तर लक्षण देखिइसकेपछि बाँच्ने सम्भावना अत्यन्त कम हुन्छ । त्यसैले, सकेसम्म छिटो एन्टिरेबिज भ्याक्सिन दिनुपर्छ । प्रादेशिक तथा जिल्ला अस्पतालमा भ्याक्सिन अभावका कारण टाढाबाट काठाडौं आइपुग्दा ढिला भएर ज्यानै खतरामा पर्ने जोखिम छ । सरकारी तथ्यांकअनुसार रेबिजकै कारण नेपालमा वार्षिक २० भन्दा धेरै व्यक्तिको मृत्यु हुने गरेको छ ।
सर्पदंशको भ्याक्सिनको पनि हाहाकार हुन थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागसँग हाल एन्टिस्नेक भेनम एक हजार भायल मात्रै स्टक छ । बर्खा र गर्मीसँगै खासगरी तराईका जिल्लामा सर्पदंशका बिरामी बढ्न थाले पनि त्यहाँका अस्पतालमा भ्याक्सिन वितरण गर्न अभाव छ । सप्तरी राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालका एक चिकित्सकले सर्पदंशको भ्याक्सिन एक महिनादेखि सकिएको बताए ।
‘हामीकहाँ सर्पदंशको भ्याक्सिन सकिएको एक महिनाहाराहारी हुन थाल्यो, मन्त्रालयसँग माग गरेको पठाउँदैन,’ उनले भने, ‘हामीसँग भ्याक्सिन अभाव भएपछि यहाँ आउने बिरामीलाई निजी स्वास्थ्य संस्थामा पठाउने गरेका छौँ । निजीले सहजै ल्याएर बेच्ने यो भ्याक्सिन सरकारले चाहिँ किन वेलैमा खरिद गरेर पठाउन सक्दैन?’
स्वास्थ्य मन्त्रालयले १३ हजार दुई सय भायल ल्याउन टेन्डर प्रक्रिया अघि बढाएको छ । तर, उक्त भ्याक्सिन आइपुग्न एक महिनाभन्दा बढी समय लाग्छ । ‘सर्पदंशको भ्याक्सिन ठ्याक्कै अभाव भएको त होइन, तर अभाव हुने अवस्था भने छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘हामीसँग जति मात्रामा स्टक हुनुपर्ने हो, त्यो छैन । थप खरिदका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको छ । सरकारी प्रक्रिया पुर्याउनै पर्यो, यसकारण समय लागेको हो ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका अनुसार देशभर दैनिक २० भन्दा धेरैलाई सर्पले डस्छ । उनीहरूलाई अनिवार्य भ्याक्सिन लगाउनैपर्छ । तर, अधिकांश प्रदेश र जिल्ला अस्पतालमा उक्त भ्याक्सिन छैन । सर्पदंशकै उपचारका लागि भनेर खोजिएका स्वास्थ्य संस्थामा समेत सीमित मात्र भायल स्टक छ ।
‘हामीसँगै ५०–६० भायल मात्रै भ्याक्सिन बाँकी छ । थप माग गरेकामा टेन्डर प्रक्रियापछि पठाउँछौँ भनेको छ,’ कपिलवस्तुस्थित सर्पदंश उपचार केन्द्रमा कार्यरत एक चिकित्सकले भने, ‘यो सर्पदंशका बिरामी बढ्ने सिजन हो, तर आवश्यक समयमा खोप भएन भने बिरामीको ज्यान जान सक्छ ।’
केमोथेरापीमा चाहिने कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव केही दिनलाई थामियो
क्यान्सरका बिरामीको केमोथेरापीमा अत्यावश्यक ‘कार्बोप्लाटिन’ र ‘सिसप्लाटिन’ औषधि अभाव केही दिनलाई थामिएको छ । ९ जेठदेखि नै चरम हाहाकार भएको यो औषधि सोमबार मात्रै आयातकर्ताले केही भायल उपलब्ध गराएका छन् । सिसप्लाटिन एक हजार २०० भायल भिœयाएका हुन् । यसले २२ दिनलाई धान्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कार्बोप्लाटिन पनि यति नै समयलाई पुग्ने स्टक छ ।
‘क्यान्सरका बिरामीलाई दिइने केमोथेरापीमा अत्यावश्यक औषधि अभाव भइरहेको थियो, तर सोमबार केही दिनलाई पुग्ने गरी ल्याएका छौँ । औषधि व्यवस्था विभागको अनुमतिमा औषधि व्यवसायीले नै ल्याउनुभएको हो,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भने, ‘क्यान्सरको औषधि कम उत्पादन भएको र भाउ महँगिएकाले सहज आपूर्ति हुन नसकेको हो । तर, व्यवसायीहरूले पुरानै मूल्यमा बिक्री–वितरण गर्नुभएको छ ।’
पश्चिम एसिया (मध्यपूर्व)मा द्वन्द्व चर्किएपछि उक्त औषधि उत्पादन गर्न नभई नहुने प्लाटिनमको मूल्य बढेको थियो । प्लाटिनमको मूल्य बढेसँगै उत्पादन घटेपछि भारत र बंगलादेशले औषधिको मूल्य समायोजन गरेको थियो । तर, नेपालमा मूल्य समायोजन हुन सकेको छैन । पाँच दिनअघि संसद्मा सम्बोधनका क्रममा स्वास्थ्यमन्त्री निशा मेहताले औषधिको मूल्य समायोजन गर्नेबारेमा पनि प्रतिबद्धता जनाएकी थिइन् । आयातकर्ताले हाल नेपालमा घाटा खाएर उक्त औषधि बेचिरहेको दाबी गरेका छन् ।
हाल नेपालमा एक दर्जनभन्दा बढी कम्पनीले विभिन्न औषधिका लागि औषधि व्यवस्था विभागसँग आयात अनुमतिपत्र पाएका छन् । तर, त्यसमध्ये चारवटा आयातकर्ताले कार्बोप्लाटिन र सिसप्लाटिन ल्याउने गरेका छन् । पछिल्लो समय कतिपयले भारतबाट गैरकानुनी रूपमा ती औषधि ल्याएर बेच्ने गरेका कारण विनारसिद खरिद नगर्न औषधि व्यवस्था विभागले सचेतसमेत गराएको छ । ९ जेठयता सोमबारअघिसम्म पाँच हजार पाँच सय भायल कार्बोप्लाटिन र एक हजार पाँच सय सिसप्लाटिन ल्याइएको थियो । उक्त औषधि खपत भइसकेको छ ।
नेपाल औषधि आयातकर्ता संघ (मियान)का अध्यक्ष पवन आचार्यले हाल ‘कार्बोप्लाटिन’ र ‘सिसप्लाटिन’ औषधिको अन्तर्राष्ट्रिय बजारमा मूल्य महँगिए पनि नेपालमा भने पुरानै मूल्यमा बेचिरहेको बताए । ‘क्यान्सरको उपचारमा चाहिने प्लाटिनम समूहका अत्यावश्यक ‘कार्बोप्लाटिन’ र ‘सिसप्लाटिन’को अभाव एक महिनाअघिदेखि नै हुन थालेको हो, तर हामीले भारत र बंगलादेशमा हारगुहार गरेर दुई–तीनपटकसम्म ल्याएर बिरामीलाई उपलब्ध गराइसकेका छौँ,’ उनले भने, ‘उक्त औषधि उत्पादन गर्न प्लाटिनम धातु चाहिन्छ, उक्त धातु महँगो भएपछि उत्पादन घट्यो, यो औषधि नेपालमा आउने भनेको भारत र बंगलादेशबाट हो, त्यहाँ मूल्य बढेपछि यहाँ पनि अभाव हुने अवस्था आएको हो ।’