नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चालू आर्थिक वर्ष ०८२/८३ को ११ महिनामा दुई खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ । यो हालसम्मकै उच्च हो । गत आवको ११ महिनामा भने दुई खर्ब ४७ अर्ब ५७ करोड दुई लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । गत आव ०८१/८२ मा भने नेपालबाट दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँको वस्तु निर्यात भएको थियो ।
इरान युद्धले विश्व आपूर्ति शृंखलामा पारेको प्रभाव र चिया निर्यातमा भारतको अवरोधबिच पनि निर्यातमा नयाँ रेकर्ड कायम भएको छ । यद्यपि, पछिल्लो समय निर्यातको वृद्धिदर भने खस्किँदो छ । चालू आवको ११ महिनामा निर्यात वृद्धिदर १२.२८ प्रतिशत छ ।
अघिल्लो आवको तुलनामा निर्यात वृद्धिदर भने घट्दो क्रममा देखिएको छ । तथ्यांकअनुसार गत आवको भन्दा साउनमा ९५.७५ प्रतिशत, भदौसम्म ८८.५७ प्रतिशत, असोजसम्म ८९.६४ प्रतिशत, कात्तिकसम्म ७७.५१ प्रतिशत र मंसिरसम्म ५८.१७ प्रतिशतले निर्यात बढेको थियो । त्यस्तै, पुससम्म ४३.७६ प्रतिशत, माघसम्म ३२.१९ प्रतिशत, फागुनसम्म २०.८३ प्रतिशत, चैतसम्म १८.४६ प्रतिशत र वैशाखसम्म १४.२५ प्रतिशतको निर्यात वृद्धिदर रहेको तथ्यांकमा उल्लेख छ । जेठसम्म आउँदा वृद्धिदर थप घटेर अघिल्लो आवको तुलनामा १२.२८ प्रतिशतमा सीमित भएको तथ्यांकमा छ । पछिल्लो समय चिया निर्यातमा भारतको अवरोध र इरान युद्धले विश्व आपूर्ति शृंखलामा परेको असरले वृद्धिदर कमजोर बनेको छ ।
एक खर्ब १३ अर्बको सोयाबिन तेल निर्यात
चालू आवको ११ महिनामा एक खर्ब १३ अर्ब १८ करोड ३२ लाख रुपैयाँको प्रशोधित सोयाबिन तेल निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढी हो । गत आवको समीक्षा अवधिमा ९३ अर्ब ५१ करोड ६७ लाख रुपैयाँको सोयाबिन तेल निर्यात भएको थियो । नेपाली व्यापारीले तेस्रो मुलुकबाट कच्चा सोयाबिन तेल ल्याएर प्रशोधन गरी भारतमा निर्यात गर्दै आएका छन् । समीक्षा अवधिमा ५३ करोड आठ लाख २९ हजार केजी सोयाबिन तेल निर्यात भएको छ ।
११ महिनामा १२ अर्ब एक करोड १४ लाख ८६ हजारको अलैँची, नौ अर्ब ३८ करोड १४ लाख ९६ हजारको कार्पेट, सात अर्ब ९९ करोड ३२ लाख ९४ हजारको सूर्यमुखीको तेल तथा बिउ र ६ अर्ब १४ करोड दुई लाख ३१ हजारबराबरको प्रशोधित पाम तेल निर्यात भएको छ ।
बढ्दै आयात, १५.१६ प्रतिशतको वृद्धि
समीक्षा अवधिमा वस्तु आयात भने १५.१६ प्रतिशतले बढेको छ । गत आवको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको वस्तु आयात भएको थियो । चालू आवको ११ महिनामा १८ खर्ब ९४ अर्ब नौ करोड ८८ लाख रुपैयाँको वस्तु आयात भएको छ । इरान युद्धको असरले पनि नेपालको आयात महँगो भएको देखिन्छ । इरान युद्धले विश्व आपूर्ति शृंखला प्रभावित हुँदा इन्धन, ग्यासलगायतका वस्तुको मूल्य बढेको छ, जुन वस्तुको आयात नेपालमा पनि उच्च हुन्छ । त्यसले गर्दा नेपालको वस्तु आयात महँगो बनेको व्यापारीहरू बताउँछन् । गत फागुनमा आयातको वृद्धिदर १२.५४ प्रतिशतन थियो । चैतसम्म आउँदा त्यो १३.६५ प्रतिशत पुग्यो । त्यसपछि वैशाखमा १४.८२ प्रतिशत पुगेको आयात वृद्धिदर जेठमा थप बढेर १५.१६ प्रतिशत पुगेको हो । परिमाणभन्दा पनि मूल्य बढेर वृद्धिदर उच्च भएको व्यापारीहरू बताउँछन् ।
धेरै आयात हुनेमा डिजेल, दोस्रो नम्बरमा कच्चा सोयाबिन
समीक्षा अवधिमा धेरै आयात हुने वस्तुमा डिजेल पहिलो नम्बरमा छ । ११ महिनामा एक खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख रुपैयाँबराबरको १२ लाख ६४ हजार आठ सय ७८ किलोलिटर डिजेल आयात भएको छ । युद्धले यसको मूल्य बढाउँदा आयात लागत पनि बढेको छ । गत आवको ११ महिनामा परिमाणका आधारमा योभन्दा धेरै डिजेल आयात भएको थियो । तथ्यांकअनुसार गत आवको ११ महिनामा १३ लाख १२ हजार नौ सय पाँच किलोलिटर डिजेल आयात गर्दा एक खर्ब १५ अर्ब ५५ करोड एक लाख रुपैयाँ बाहिरिएको थियो । यस्तै, दोस्रो नम्बरमा एक खर्ब १९ अर्ब ६३ करोड दुई लाख रुपैयाँको ७२ करोड ६४ लाख ९९ हजार लिटर कच्चा सोयाबिन तेल आयात भएको छ । नेपाली व्यापारीले तेस्रो मुलुकबाट कच्चा सोयाबिन तेल ल्याएर प्रशोधन गरी भारतमा निर्यात गर्दै आएका छन् ।
यस्तै, तेस्रो नम्बरमा पेट्रोल रहेको छ । समीक्षा अवधिमा ६८ अर्ब १७ करोड ८७ लाख रुपैयाँबराबरको ६ लाख ८५ हजार एक सय २७ किलोलिटर पेट्रोल आयात भएको छ । इरान युद्धले यसको पनि मूल्य बढाएको छ । गत आवको ११ महिनामा ६ लाख ८१ हजार चार सय ८४ किलोलिटर पेट्रोल आयात गर्दा ५८ अर्ब ५८ करोड ९० लाख रुपैयाँ बाहिरिएको थियो ।
यस्तै, चौथो नम्बरमा स्पन्स आइरन छ । तथ्यांकअनुसार ११ महिनामा ५३ अर्ब ६९ करोड नौ लाखबराबरको एक अर्ब २२ करोड ८६ लाख ६३ हजार केजी स्पन्स आइरन आयात भएको छ । पाँचौ नम्बरमा भने खाना पकाउने एलपिजी ग्यास छ । समीक्षा अवधिमा ५२ अर्ब २१ करोड ६६ लाखबराबरको ४७ करोड ५९ लाख ८० हजार केजी एलपिजी ग्यास आयात भएको छ ।
१५.६७ प्रतिशतले बढ्यो व्यापार घाटा
समीक्षा अवधिमा मुलुकको व्यापार घाटा १५.६७ प्रतिशतले बढेको छ । गत आवको ११ महिनामा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँको व्यापार घाटा थियो । चालू आवको ११ महिनामा भने १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख रुपैयाँको व्यापार घाटा भएको छ । आयात उच्च दरमा बढ्ने र निर्यातको वृद्धिदर कमजोर हुँदा व्यापार घाटा बढेको देखिन्छ । समीक्षा अवधिमा मुलुकको कुल वैदेशिक वस्तु व्यापारको आकार २१ खर्ब ७२ अर्ब २० करोड ६६ लाख रुपैयाँ पुगेको छ । त्यसमा आयातको हिस्सा ८७.२० र निर्यातको हिस्सा १२.८० प्रतिशत छ ।