चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको वस्तु आयात झन्डै १९ खर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको हो। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो।
यस अवधिमा नेपालबाट २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको छ। निर्यात पनि अघिल्लो वर्षको तुलनामा १२.२८ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ।
आयातको वृद्धि निर्यातभन्दा उच्च हुँदा नेपालको वैदेशिक व्यापार घाटा १५.६७ प्रतिशतले बढेको छ।
तथ्यांकअनुसार नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ। ११ महिनामा १ खर्ब ५२ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको डिजेल आयात भएको विभागको विवरणमा उल्लेख छ। त्यस्तै, ६८ अर्ब १७ करोड रुपैयाँबराबरको ६ लाख ८५ हजार किलोलिटर पेट्रोल आयात गरिएको छ।
यस्तै, १ खर्ब १९ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सोयाबिन तेल तथा त्यसको कच्चा पदार्थ आयात भएको छ। निर्याततर्फ भने नेपालले १ खर्ब १३ अर्ब रुपैयाँबराबरको सोयाबिन तेल तथा कच्चा पदार्थ विदेश पठाएको छ।
त्यसैगरी, १२ अर्ब १ करोड रुपैयाँभन्दा बढीको अलैँची निर्यात भएको विभागले जनाएको छ। अन्य प्रमुख आयातित वस्तुमा ५३ अर्ब ६९ करोड रुपैयाँको स्पन्ज आइरन, ५२ अर्ब २१ करोड रुपैयाँको एलपी ग्यास तथा ४३ अर्ब ४५ करोड रुपैयाँबराबरका २० लाखभन्दा बढी स्मार्टफोन रहेका छन्।