चालू आर्थिक वर्ष ०८२/८३ को ११ महिनामा सात लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुगेका छन् । बेनी–जोमसोम सडकमार्फत मुस्ताङ प्रवेश गर्ने पर्यटकको संख्या गत आर्थिक वर्षको कुल आगमनको हाराहारीमा पुगेको छ ।
मुस्ताङको घाँसास्थित सीमा प्रहरी चौकीका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म कुल सात लाख पाँच हजार ७५४ पर्यटक मुस्ताङ भित्रिएका छन् । यो संख्या गत आर्थिक वर्षको हाराहारी हो । गत आवमा सात लाख पाँच हजार ७७९ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार यस अवधिमा एक लाख ५१ हजार १६० सवारीसाधनमार्फत चार लाख ६० हजार ९२४ स्वदेशी तथा दुई लाख ४४ हजार ८३० विदेशी पर्यटक मुस्ताङ पुगेका छन् । सबैभन्दा बढी पर्यटक जेठ महिनामा भित्रिएका छन् । उक्त महिनामा मात्रै २७ हजार ४८८ सवारीसाधनमार्फत एक लाख ३१ हजारभन्दा बढी पर्यटक मुस्ताङ पुगेका थिए । मुस्ताङ पुग्ने विदेशी पर्यटकमध्ये करिब ८० प्रतिशत भारतीय पर्यटक रहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।
भारत सरकारले विदेशी मुद्रा बचतसम्बन्धी नयाँ नीति अवलम्बन गरेसँगै भारतीय पर्यटकको चाप पोखरा, मुस्ताङलगायतका प्रमुख पर्यटन गन्तव्यमा बढेको देखिएको छ । साथै, नेपालमा दुईदिने सरकारी बिदाले पनि आन्तरिक पर्यटकको रोजाइमा समेत मुस्ताङ पर्न थालेको हो । पर्यटकको बढ्दो आगमनले बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेनी, गलेश्वर, तातोपानी र दाना क्षेत्रका होटेल तथा पर्यटन व्यवसायमा उल्लेखनीय चहलपहल बढाएको छ ।
विशेषगरी वैशाख र जेठ महिनामा मौसम अनुकूल हुने भएकाले मुस्ताङ भ्रमण गर्नेको संख्या उच्च रहने गरेको व्यवसायीहरू बताउँछन् । धार्मिक तथा प्राकृतिक आकर्षणका कारण मुस्ताङ पर्यटकको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । धार्मिक तथा प्राकृतिक आकर्षणका कारण मुस्ताङ पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ ।