राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतान्त्रिक मूल्य–मान्यता र संविधानप्रति दृढ रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
पार्टीको महाधिवेशनअघि शनिबार चितवनमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले रास्वपा संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको आधारमा अघि बढिरहेको उल्लेख गरे। उनले देशलाई वर्तमान अवस्थामा ल्याउन योगदान गर्ने शक्तिहरूप्रति सम्मान व्यक्त गर्दै लोकतन्त्रबाट पार्टी कहिल्यै विमुख नहुने स्पष्ट पारे।
सभापति लामिछानेले आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन नसके राजनीतिक दलहरू गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिए। राजनीतिक दलभित्र हुने दुर्घटनाले समाज र राष्ट्रले ठुलो मूल्य चुकाउनुपर्ने भएकाले सबैले सचेत भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई जुनसुकै भूमिकामा रहे पनि जिम्मेवार नागरिकका रूपमा प्रस्तुत हुन आग्रह गर्दै अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहन निर्देशन दिए।
पार्टीलाई थप व्यवस्थित, सशक्त र गतिशील बनाउने उद्देश्यका साथ हुन लागेको महाधिवेशन सफल हुने विश्वास व्यक्त गर्दै उनले संगठनलाई अझ बलियो बनाउने दिशामा सबै एकजुट हुनुपर्नेमा जोड दिए।