चर्चामा जुम्लाको गिडीदह

पर्यटन प्रवर्द्धनमा खास कर्णालीलाई ‘टास’ कर्णालीको उपेक्षा

शनिबार, ६ असार, २०८३
डिजिटल संस्करण

गिडीदह कर्णालीको रारा र सेफोक्सुन्डोपछिको तेस्रो ठुलो ताल हो । यहाँको प्रमुख पर्यटकीय स्थल भए पनि पहिले निकै गुमनाम अवस्थामा थियो । दोस्रो स्थानीय तहको निर्वाचनपछि वडा, गाउँपालिकाले सरकारी टोलीसहित लिएर दुईपटक यस ठाउँमा सम्मेलन गरेपछि गिडीदह चर्चामा आउन थालेको हो । यो ताल जुम्लाको तातोपानी गाउँपालिका– ४ मा पर्छ ।

गिडीदह समुद्री सतहदेखि तीन हजार चार सय ८२ मिटर उचाइमा रहेको छ । पर्यटन प्रवर्द्धनका लागि पहिलोपटक सरकारी टोलीले २०७९ असोज ४, ५ र ६ गते र दोस्रोपटक ०८३ जेठ २९, ३० र ३१ गते ‘प्रकृति हेरौँ, महसुस गरौँ, पर्यापर्यटन प्रवर्द्धनमा जुटौँ’ भन्ने मूल नारासहित गिडीदह पर्यापर्यटन प्रवर्द्धन तथा जलवायु सम्मेलन गर्‍यो । 

भूगोलविद् स्वर्गीय डा. हर्क गुरुङले विसं ०३०/०३१ सालतिर सो दहसम्म जाने प्रयास गरेका थिए  । त्यसयता तालमा सरकारी निकायको टोली पुगेको थिएन  । दोस्रो स्थानीय तह निर्वाचनपछि दुईपटक सम्मेलन भएका छन् । पदमार्ग, धर्मशाला, खानेपानीको धारा, शौचालयलगायतको पर्यटन विकासको आधारभूत पूर्वाधार बन्दै गएपछि पछिल्लो समय आन्तरिक पर्यटक गिडीदहमा पुग्ने गरेका छन् । 

निकै आकर्षक देखिने गिडीदहको लम्बाई १५ सय १० मिटर, चौडाइ तीन सय १० मिटर र गहिराइ ४२.८ मिटर रहेको छ । गिडीदहआसपास झन्डै दुई दर्जन विभिन्न प्रजातिका वन्यजन्तु र लोपोन्मुख पक्षी पाइन्छन्  । कस्तुरी, रेडपान्डा, घोरल, थार, बाघ, भालु, रतुवाजस्ता जनावर र डाँफे, कालिज, फग्रास, ढुकुरजस्ता पक्षीसमेत यसै क्षेत्रमा पाइन्छन्  । यार्चागुम्बा, जटामसी, पाँचऔँले, खिरौलो, पदमचाल, भूतकेश, सिलाजितजस्ता सयौँ प्रकारका जडीबुटी पनि पाइन्छन् । 

दहको नापजाँचका लागि १४ लाख रुपैयाँ, डन्डमा काँधदेखि गिडीदहसम्म पाँच किलोमिटर पदमार्ग निर्माण गर्न सात लाख २५ हजार रुपैयाँ, सूचनामूलक होर्डिङ बोर्ड निर्माण गर्न दुई लाख ५० हजार रुपैयाँ तथा गिडीखोला–भलखोला–फुलचौल्या–लामाचौर–गिडीदहसम्म २० किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न १० लाख रुपैयाँ खर्च स्थानीय तहले छुट्याएको छ । त्यसैगरी, वातावरणीय प्रभाव मूल्यांकनमा १० लाख रुपैयाँ, धर्मशाला निर्माणमा १५ लाख रुपैयाँ तथा सात किलोमिटर छोटो गिडीदह पर्यटन पदमार्ग निर्माणमा ९० लाख रुपैयाँ खर्च भएको वडाध्यक्ष अमर रोकायाले बताए । 

तर, कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको बजेटमा जुम्ला–डोल्पा पर्यटन प्रवर्द्धनमा उपेक्षा गरेको देखिन्छ । मुगुको राराताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौहानपार्क, सल्यानको कुपिन्डे दह र रुकुम पश्चिमको स्यार्पु तालको संरक्षण विकासका लागि २१ करोड ३५ लाख बजेट विनियोजन गरेको छ । तर, जुम्लाका गिडीदह, सिंजा उपत्यका महत्वपूर्ण पर्यटकीयस्थलको संरक्षण विकासका लागि बजेट विनियोजन गरिएको छैन । 

गिडीदहमा विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययन भएको छ । विद्युत्को डिपिआर बनाउनेदेखि उत्पादन गर्ने जिम्मेवारीसम्म इन्भेस्टमेन्ट प्रालिले लिएको छ  । सबै रिपोर्ट हेरेर पाँच वर्षसम्म विद्युत् उत्पादन गर्न सक्ने लक्ष्य लिएको वडाध्यक्ष रोकायाले बताए  । ‘पहिलो चरणमा प्राविधिक रिपोर्टले ८० प्रतिशत विद्युत् निकाल्न सकिने सम्भावना देखाइसकेको छ,’ वडाध्यक्ष रोकायाले भने  ।

गिडीदह क्षेत्रमा रहेका दर्जनौँ पाटन, रमणीय दह, पवित्र धार्मिकस्थल, जीवनबुटीका रूपमा रहेका जडीबुटी, वनस्पति, जनावर तथा पक्षी आदिका बारेमा चर्चा गरिनु आवश्यक छ  । तालको संरक्षण गरी पर्यटकीयस्थल बनाउने वडाध्यक्ष रोकाया बताउँछन् । उनी भन्छन्,‘यो ताल ओझेलमा परेकाले संरक्षणका लागि वडाले निरन्तर पहल गर्दै आएको छ ।’ पूर्वमन्त्री माधवप्रसाद चौलागाईं, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंसहित दोस्रो गिडीदह सम्मेलन हुँदा पाँच सयभन्दा बढी सदस्यीय टोली दोस्रोपटक तालको अवलोकन गर्न त्यहाँ पुगेका थिए ।

दोस्रो गिडीदह सम्मेलनबाट १५ बुँदे घोषणापत्र जारी गरेको छ । जसमा गिडीदह तथा आसपासका जलाधार क्षेत्रको संरक्षण, जैविक विविधताको जगेर्ना, वन्यजन्तुको वासस्थान संरक्षण तथा चरण क्षेत्रको दिगो व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । घोषणापत्र सार्वजनिक गर्दै तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमरबहादुर रोकायाले वातावरणमैत्री पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई अगाडि बढाइने बताए । उनले गिडीदह क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्ने, शून्य फोहोर व्यवस्थापन रणनीति लागू गर्ने तथा पदमार्ग निर्माणलाई पूर्णता दिने योजना रहेको बताए ।

पर्यटकका लागि निर्माण गरिने विश्रामस्थल, भ्यु टावर, संकेत चिह्न तथा पदमार्गहरूमा कंक्रिट र सिमेन्टको प्रयोगलाई निरुत्साहित गरिने घोषणापत्रमा उल्लेख छ । सम्मेलनले स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासलाई पर्यटनसँग जोड्ने लक्ष्य लिएको छ । यसअन्तर्गत तातोपानी गाउँपालिकाका रैथाने गाउँहरूमा सामुदायिक होमस्टे सञ्चालन गरिने, स्थानीय वेशभूषा, संस्कृति तथा अर्गानिक खानपानलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गरिने उल्लेख गरिएको छ ।

साथै, स्थानीय युवाहरूलाई ‘क्लाइमेट गाइड’का रूपमा परिचालन गरी रोजगारी सिर्जना गर्ने योजना पनि अघि सारिएको छ । रैथाने कृषि प्रणाली, खाद्य सुरक्षा तथा जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्ने, वन तथा जडीबुटी संरक्षणमा विशेष ध्यान दिने, डढेलो नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीय अनुकूलन योजना र नीतिलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ । 

सम्मेलनका अवसरमा पालिकास्तरीय माध्यमिक विद्यालयका विद्यार्थीहरूबिच वक्तृत्वकला प्रतियोगिता र जिल्लास्तरीय खुला देउडा प्रतियोगिता गरिएका थिए । उक्त कार्यक्रममार्फत जलवायु परिवर्तनका असर, चुनौती तथा समाधानका उपायबारे विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।

त्यसैगरी, जिल्लास्तरीय खुला देउडा कार्यक्रममार्फत स्थानीय कला, संस्कृति र जलवायु सचेतनालाई जोड्ने प्रयास गरिएको छ । सम्मेलनमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका समस्या, चुनौती तथा सम्भावित समाधानका उपायबारे बहस कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री माधव चौलागाईंले हिमाली क्षेत्रको प्राकृतिक सम्पदा, बहुमूल्य जडीबुटी तथा जैविक विविधताको संरक्षण गर्नुपर्नेमा जोड दिए । 

प्राध्यापक तथा खस भाषाविद् प्रकाशचन्द्र खत्री भन्छन्, ‘टास कर्णालीले खास कर्णालीलाई हेर्ने नजर फरक छ । कर्णालीको रक्तरञ्जित आन्दोलनको परिणाम खास कर्णालीले कतिन्जेल भोग्नुपर्ने हो ? खास कर्णाली भनेको जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्ला हो । टास कर्णाली भनेको सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुमपश्चिम हो । खास कर्णालीलाई पहिलो काठमाडौंले उपेक्षा गर्दै आएको थियो । संघीयतापछि टास कर्णालीले काठमाडौंको भूमिका निर्वाह गर्दै आएको छ ।’ 

कर्णालीको पर्यटन प्रवर्द्धनको कुरा गर्दा फोक्सुन्डोजस्तो अन्तर्राष्ट्रिय पहिचान बोकेको गन्तव्यलाई प्राथमिकतामा राख्नुपर्ने हो । डोल्पा मात्र होइन, समग्र कर्णाली र नेपालको पर्यटन विकासको आधारस्तम्भका रूपमा रहेको फोक्सुन्डोलाई बजेटमा बेवास्ता गर्नु दुःखद पक्ष रहेको पर्यटन व्यवसायी नोर्बु लामाको भनाइ छ ।

सुझावित समाचार