कक्षा १२ को यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिए पनि अंग्रेजी विषय विद्यार्थीका लागि अझै चुनौतीपूर्ण बनेको छ । तर, समग्र नतिजा सुधारिए पनि अंग्रेजी विषयमा मात्रै ३३ हजार दुई सय विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ सहभागी तीन लाख ३२ हजार २४१ विद्यार्थीमध्ये दुई लाख ३१ हजार ७७० जना (६९.७५ प्रतिशत) उत्तीर्ण भएका छन् । यो गत वर्षको ६१.१७ प्रतिशतको तुलनामा करिब नौ प्रतिशतले बढी हो ।
बोर्डका अनुसार यस वर्ष नियमिततर्फ एक लाख ४७१ विद्यार्थी ननग्रेडेड भएका छन् । गत वर्ष अंग्रेजी विषयमा ६१ हजारभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका थिए । यसपटक संख्या घटे पनि अंग्रेजी नै सबैभन्दा बढी विद्यार्थी अनुत्तीर्ण हुने विषय बनेको छ । अंग्रेजीमा ३३ हजार दुई सय अनुत्तीर्ण छन् ।
आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ३६ हजार ४२० जना (४२.३८ प्रतिशत) उत्तीर्ण भएका छन् ।
बोर्डका कक्षा ११ र १२ तर्फका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार यस वर्षको नतिजा गत वर्षको तुलनामा करिब नौ प्रतिशतले सुधारिएको छ । उनका अनुसार नियमित र आंशिक गरी कुल चार लाख १८ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए । परीक्षा अवधिमा अनियमितता गरेको आरोपमा ४० जनाको उत्तरपुस्तिका रद्द गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोर्डलाई ४५ दिनभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएको थियो । बोर्डले भने परीक्षा सकिएको ४० दिनमै नतिजा सार्वजनिक गरेको छ । गत १४ देखि २७ वैशाखसम्म सञ्चालन भएको परीक्षाको उत्तरपुस्तिका तीव्र गतिमा परीक्षण गरिएकाले नतिजा छिट्टै सार्वजनिक गर्न सम्भव भएको परीक्षा नियन्त्रक शर्माले बताए ।
‘हामीलाई ४५ दिनभित्र नतिजा प्रकाशन गर्नुपर्ने निर्देशन थियो । त्यसअनुसार तोकिएको समयभन्दा अगावै नतिजा सार्वजनिक गर्न सफल भयौँ,’ उनले भने, ‘यस वर्ष पनि सबैभन्दा धेरै विद्यार्थी अंग्रेजी विषयमा अनुत्तीर्ण भएका छन् । यद्यपि, समग्र नतिजा हेर्दा करिब नौ प्रतिशतले सुधार देखिएको छ ।’
प्रदेशगत नतिजामा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । बागमतीका ७८.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । त्यसपछि गण्डकीमा ६९.७२, लुम्बिनीमा ६७.८२, कोशीमा ६५.९८, मधेशमा ६४.७७, सुदूरपश्चिममा ६४.३१ तथा कर्णालीमा ६२.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।
जिपिएअनुसार विद्यार्थी संख्या
बोर्डका अनुसार जिपिए २.८१ देखि ३.२० ल्याउने विद्यार्थी सबैभन्दा धेरै छन् । यो समूहमा ९४ हजार २४९ विद्यार्थी परेका छन् । त्यस्तै, जिपिए ३.६१ देखि ४ ल्याउने १७ हजार ७८६, जिपिए ३.२१ देखि ३.६० ल्याउने ६४ हजार ८२१, जिपिए २.४१ देखि २.८० ल्याउने ५० हजार ५९७, जिपिए २.०१ देखि २.४० ल्याउने चार हजार ३०८ तथा जिपिए १.६१ देखि २.० ल्याउने नौ विद्यार्थी रहेका छन् ।
ग्रेडवृद्धि परीक्षा साउनमा
दुई विषयसम्म ननग्रेडेड भएका विद्यार्थीका लागि बोर्डले १ र २ साउनमा ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । साथै, उत्तरपुस्तिका पुनरवलोकन तथा रिटोटलिङका लागि शनिबारदेखि बोर्डको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिनेछ । आवेदन अवधि एक सातासम्म रहने बोर्डले जनाएको छ ।
छात्राको सफलता दर बढी
यस वर्ष परीक्षामा एक लाख ५९ हजार ९६४ छात्रा सहभागी भएकामध्ये एक लाख १२ हजार ६०३ जना ग्रेडेड भएका छन् । त्यस्तै, एक लाख ७२ हजार २४८ छात्र सहभागी भएकामध्ये करिब एक लाख १९ हजारजना ग्रेडेड भएका छन् । प्रतिशतका आधारमा छात्राको सफलता दर छात्रको भन्दा बढी देखिएको छ ।
१२ पासपछि बिदेसिने प्रवृत्ति रोक्नुपर्छ : शिक्षाविद्
शिक्षाविद् विद्यानाथ कोइरालाले कक्षा १२ उत्तीर्ण गरेपछि अध्ययन वा रोजगारीका लागि विदेश जाने विद्यार्थीको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार सरकारले विद्यार्थीलाई उच्च शिक्षा, सिप र रोजगारीसँग जोड्ने स्पष्ट नीति ल्याउन सकेको छैन ।
‘विद्यार्थी धेरै पास भए भन्नेभन्दा पनि किन केही विद्यार्थी पास हुन सकेनन्, उनीहरूलाई कसरी सक्षम र आत्मनिर्भर बनाउने भन्ने विषयमा ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने अवसर र रोजगारीसँग जोड्ने कार्यक्रम अपरिहार्य छ ।’ उनका अनुसार हालको सरकारले विश्वविद्यालयलाई झन् निरीह बनाएको छ, शिक्षामन्त्रीले विश्वविद्यालय बुझ्न सकिरहेका छैनन् ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा बोर्ड र एनओसीका तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा कक्षा १२ उत्तीर्ण गर्ने झन्डै आधा विद्यार्थी नेपाली विश्वविद्यालयमा भर्ना नहुने गरेका छन् । उनीहरूमध्ये ठुलो हिस्सा वैदेशिक अध्ययन वा रोजगारीका लागि विदेश जाने गरेका छन् ।
बर्सेनि सुधारिँदै नतिजा
बोर्डका अनुसार कक्षा १२ को नतिजा पछिल्ला पाँच वर्षदेखि क्रमशः सुधार हुँदै गएको छ । ०७८ मा ४८.१० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यो दर ०७९ मा ५१.९१ प्रतिशत, ०८० मा ५२.९१ प्रतिशत, ०८१ मा ६१.१७ प्रतिशत र ०८२ मा ६९.७५ प्रतिशत पुगेको छ ।