पेट्रोलपम्प व्यवसायीको अधिवेशनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र प्रथम उपाध्यक्षमा मात्रै चुनाव हुने

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

पेट्रोलपम्प व्यवसायीको छाता संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको शुक्रबारबाट जारी ४६ औँ वार्षिक साधारणसभा तथा १७औँ राष्ट्रिय सम्मेलनमार्फत आगामी कार्यालयका लागि नेतृत्वमा आउन मुख्य तीन पद अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र प्रथम उपाध्यक्षमा मात्रै चुनाव हुने देखिएको छ ।

अन्य पदाधिकारीमा एकल उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित हुने निश्चित भएको छ भने १२ जना केन्द्रीय सदस्य पदका लागि १४ व्यवसायीले उम्मेदवारी दिएका छन् । तर, शनिबार बिहान ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समयसम्म केन्द्रीय सदस्य पदमा पनि निर्विरोध गर्ने गृहकार्य भइरहेको छ । 

निर्वाचनमण्डलका अनुसार अध्यक्ष पदमा वर्तमान कार्यसमितिका महासचिव विश्व अर्याल र हेटौँडाका पम्प व्यवसायी उत्सव इटेनीले उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी, एकजना वरिष्ठ उपाध्यक्षका लागि चतुर्भुज सरिया अग्रवाल र जनक तिमिल्सिनाले उम्मदेवारी दर्ता गराएका छन् ।

एकजना निर्वाचित हुने प्रथम उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रथम उपाध्यक्षमा अनिलकुमार सिंह, श्यामबाबु रौनियार र लयप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसका अलवा अन्य पदाधिकारीमा एकल उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार द्वितीय उपाध्यक्षमा सुनीलकुमार बिडला, महासचिवमा अच्युतबहादुर खड्का, सचिवमा प्रेम न्यौपाने, सहसचिवमा राजन गोंगजु र कोषाध्यक्षमा श्यामकुमार बुढाथोकीले एकल उम्मेदवारी दिएका छन् ।

मनोनयन दर्ताको समयमा उनीहरूको मात्र एकल उम्मेदवारी परेकाले निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गर्न मात्र बाँकी छ । एकल उम्मेदवारी दिएका सबै अर्याल समूहका हुन् ।
१२ जना रहने केन्द्रीय सदस्य पदमा भने १४ जनाले उम्मेदवारी दिएपछि दुईजनाको उम्मेदवारी फिर्ता गराएर सर्वसम्मति गर्न व्यवसायी जुटेका छन् । 
 

सुझावित समाचार