पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि सात अर्ब १५ करोड २५ लाखको बजेट सार्वजनिक गरेको छ।
उपप्रमुख मञ्जुदेवी गुरुङले चालू आवको भन्दा एक अर्ब १९ करोड ८७ लाख घटीको बजेट १९औँ नगरसभामा पेस गरेकी हुन्। चालू आवमा पोखराको बजेट आठ अर्ब ३५ करोड १२ लाख छ। महानगरको बिहीबारदेखि सुरु नगरसभामा बिहीबारै प्रमुख धनराज आचार्यले नीति तथा कार्यक्रम पेस गरेका थिए।
आगामी आवका लागि सार्वजनिक बजेटमा चालूतर्फ ५५.१ र पुँजीगततर्फ ४४.९ प्रतिशत रकम विनियोजन गरिएको छ। बजेटमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारबाट प्राप्त हुने ससर्त अनुदान दुई अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान पाँच करोड ५० लाख, समपूरक अनुदान एक करोड ८२ लाख, समानीकरण अनुदान ४९ करोड ३७ लाख गरी वित्तीय हस्तान्तरणबाट तीन अर्ब १८ करोड ६० लाख प्राप्त हुनेछ।
गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदानतर्फ ६० लाख, विशेष अनुदान ४० लाख, समानीकरण अनुदान आठ करोड १५ लाख ३६ हजार गरी प्रदेश सरकार वित्तीय हस्तान्तरणमार्फत नौ करोड १५ लाख ३६ हजार प्राप्त हुनेछ।
राजस्व बाँडफाँटबाट संघीय सरकारमार्फत ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेश सरकारमार्फत चार करोड नौ लाख ८६ हजार, स्थानीय सरकारबाट एक अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोतबाट दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार प्राप्त हुनेछ।