आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले पेट्रोलपम्प व्यवसायीको साधारणसभामा पुगेर धम्कीपूर्ण भाषण गरेका छन् । शुक्रबार बिहान पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४६औँ साधारणसभा तथा १७औँ राष्ट्रिय सम्मेलनमा मन्तव्य राख्न पुगेका बरालले पम्प व्यवसायीलाई राजनीतिक आडमा लाइसेन्स लिएर पेट्रोलियम पदार्थको कारोबार गरिरहेको आरोपसमेत लगाए ।
‘को–को व्यवसायीले राजनीतिक आडमा पेट्रोलपम्प व्यवसायीको लाइसेन्स लिनुभएको छ भन्ने थाहा नै होला,’ उनले भने, ‘छोटो दूरीमा दुईवटा पम्प खोल्ने गरी लाइसेन्स लिन मरिहत्ते गर्ने अनि अहिले आयल निगमलाई दोष दिने कुरा सुहाउँदैन ।’
कार्यक्रममा एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले तोकिएको परिमाणअनुसारको तेल पम्पमा नआउने गरेको, गुणस्तरमा प्रश्न उठ्ने गरेको र समायानुकूल नाफा निर्धारण हुन नसकेको गुनासो राखेका थिए । उनले गुनासो राख्दा हलभित्र रहेका पम्प व्यवसायीले ताली बजाएर साथ दिएका थिए ।
अध्यक्ष प्रधानको भनाइमा ताली बजाएर साथ दिएका पम्प व्यवसायीलाई इंगित गर्दै बरालले भाषण मात्र गरेर निगमलाई आक्षेप नलगाउन चेतावनीयुक्त भाषासमेत प्रयोग गरे । ‘आयल निगमविरुद्ध भाषण ठोकेर नांगेझार नबनाए हुन्छ,’ उनले भने, ‘अहिले उपलब्ध गराइरहेको नाफाले नपुगेको भए व्यवसाय छाडेर गए हुन्छ । अरू नाफा हुने व्यवसाय गर्न पम्प व्यवसायीलाई निगमले रोकेर राखेको छैन ।’
उनले पटक–पटक व्यवसायीलाई पेट्रोलपम्पको कारोबार छाडेर अन्यत्र जान चुनौती दिएका थिए । ‘निगमले राम्रो नाफा दिएको छैन भने अरूतिर गए हुन्छ । आयल निगमले भन्दा बढी नाफा दिने अरू क्षेत्रमा गएर कारोबार गरे हुन्छ । पेट्रोलपम्पको कारोबार छोड्न कसैलाई निगमले रोकेर राखेको छ र ?’
बरालले पेट्रोलपम्प व्यवसायीको कमजोरी धेरै रहेको भन्दै आयल निगमको बचाउ गरेका थिए । तर, देशभरका डिपोले पेट्रोलपम्प व्यवसायीबाट मासिक रूपमा ‘हप्ता असुली’ गर्ने र त्यस्तो रकम केन्द्रसम्म आउने गरेकोप्रति हलमा रहेका पम्प व्यवसायीले कटाक्ष गरेका थिए । बरालले ढुवानी व्यवसायीको बदमासीकै कारण पेट्रोलपम्पले आयल निगमको डिपोबाट तेल लैजान आफैँ ट्यांकर राख्न थालेको पनि बताएका थिए ।
उनले आयल निगम नोक्सानीमा रहेर पनि पेट्रोलपम्पलाई नियमित रूपमा नाफा दिइरहेको तर्क पेस गरेका थिए । तर, आयल निगम अहिले पनि सञ्चित मुनाफामा छ । मध्यपूर्व युद्ध हुँदा चैत महिनामा हप्तैपिच्छे मूल्य बढाएको निगमले अहिले युद्ध रोकिँदा भने मूल्य घटाएर उपभोक्तालाई राहत दिन आनाकानी गरिरहेको छ ।
व्यवसायीविरुद्ध लामो समय भाषण गरेपछि उनले आफूमा पनि केही समस्या रहेको स्विकारे । उनले आफूलाई निगमभित्रै पनि ‘अड्’ चरित्रको मान्छे भएको टिप्पणी गरेका थिए । ‘म निगमभित्रै पनि अड् (अमिल्दो) स्वभाव भएको मान्छे हुँ । तथ्यपरक कुरा गर्दा अलि अमिल्दो हुइँदोरहेछ,’ उनले मन्तव्य टुंग्याउँदै भनेका थिए ।
भाषण सकेलगत्तै निस्किएका बराललाई एलपी ग्यास उद्योगी शिवप्रसाद घिमिरेले सोही मञ्चबाट जवाफ फर्काएका छन् । पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकार रहेकाले आयल निगमको फुर्तिफार्ती बढी भएकोतर्फ संकेत गर्दै घिमिरेले कानुन बनाएर प्रतिस्पर्धा गर्ने परिस्थिति निर्माण हुनुपर्ने बताए । ‘पेट्रोलियम पदार्थको एकाधिकार तोडेर प्रतिस्पर्धा हुने वातावरण निर्माण गरौंँ । हामी प्रतिस्पर्धाका लागि तयार छौँ,’ उनले भने, ‘प्रतिस्पर्धी कारोबार हुने हो भने पेट्रोलियम पदार्थको आपूर्ति अहिलेको भन्दा सहज र सस्तो हुन जान्छ । यहाँ आएर धाकधम्की गर्नु जरुरी छैन ।’
त्यस्तै, ढुवानी व्यवसायी महासंघका पूर्वअध्यक्ष खगेश्वर बोहोराले भाषण गरेर निस्केका बराललाई उनको अनुपस्थितिमा जवाफ नफर्काउने बताए । ‘निमित्त कार्यकारी निर्देशकज्यू आफ्ना कुरा राखेर हिँडिसक्नुभयो । उहाँ नभएको अवस्थामा के कुरा राख्नु र’ उनले भने, ‘आयल निगमभित्रै छिरेर उहाँलाई जवाफ दिनेछु ।’