चिनियाँ कूटनीतिक प्रभावबारे काठमाडौंमा छलफल

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

नेपाल र दक्षिण एसियाली विज्ञहरूले विश्वव्यापी सुशासनको बदलिँदो संरचना र भुइँ तहमा चिनियाँ कूटनीतिक प्रभावबारे काठमाडौंमा छलफल गरेका छन् । नेपालको चिन्तन संस्था सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) द्वारा आयोजित बोधि संवादलाई बिहीबार सम्बोधन गर्दै भारतीय पूर्वविदेश सचिव विजय केशव गोखलेसहित दक्षिण एसियाली विज्ञले यो क्षेत्रमा चीनको प्रभाव आक्रामक रूपमा बढेको भन्दै यसबारे थप अध्ययन हुनुपर्नेमा जोड दिएका छन् । 

भारतका पूर्वविदेश गोखलेले दक्षिण एसियाली क्षेत्रमा दीर्घकालसम्म महसुस हुने गरी चीनको आक्रामक उपस्थिति बढेको बताए । उनले चीनलाई सबै दक्षिण एसियाली देशले लामो समयसम्म सामना गर्नुपर्नेसमेत उनले टिप्पणी गरे । भारतमा चीनविज्ञका रूपमा चिनिएका गोखलेले भने, ‘चीनले व्यापार र वाणिज्यभन्दा धेरै अघि बढेर सुरक्षादेखि सांस्कृतिक क्षेत्रमा गहिरो गरी प्रवेश गरेको छ । यसलाई नजरअन्दाज गर्न सकिँदैन ।’ 

नेपालका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार तथा विदेश सचिव शंकरदास वैरागीले विशेष कूटनीतिक ब्याकयार्ड (सामरिक प्रभाव क्षेत्र) को युग समाप्त भएको बताए ।पूर्वअमेरिकी सहायक विदेशमन्त्री टम मालिनाउस्कीले पश्चिमी शक्तिलाई दक्षिण एसियाको रणनीतिक अस्पष्टता (रणनीतिक तटस्थता) को चाहनालाई सम्मान गर्न आग्रह गरे ।

राजनीतिशास्त्री एवं विश्लेषक हरि शर्माले द्विपक्षीय संलग्नतामा बेइजिङ र दक्षिण एसियाका साना तथा मझौला देशबिच असमानताको आलोचना गरे । वासिंटन डिसीमा रहेको चिन्तन संस्था सिएसआइएसकी चीनविज्ञ हेनरिएटा लेभिनले चीनको हालै सार्वजनिक वैश्विक सुशासन रणनीति चिनियाँ केन्द्रित विश्व व्यवस्था स्थापना गर्ने एक  अभियानका रूपमा आएको बताइन् ।

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले बेइजिङ अनुमान गरिएको एक खेलाडीबाट दक्षिण एसियामा सक्रिय रूपमा नीति निर्धारण गर्ने एक स्थायी यथार्थमा परिणत भएको बताए ।

बंगलादेशका विज्ञ प्रोफेसर लैलाफर यास्मिनले बंगलादेश चीनको खेलमैदान हो भन्ने धारणालाई अस्वीकार गरिन् । बंगलादेशले विभिन्न वैश्विक साझेदारबिच परियोजनाहरू विविधीकरण गर्ने विकास कूटनीतिको सुविचारित रणनीति अवलम्बन गरेको उनको तर्क थियो ।

श्रीलंकाकी अर्थविद् योलानी फर्नान्डोले चर्चित चिनियाँ ऋण जालको भाष्यबारे प्रस्टीकरण दिँदै आर्थिक संकट, कमजोर सार्वजनिक क्षेत्रको क्षमता र घट्दो कर राजस्वका कारण यो श्रीलंका आफैँले सिर्जना गरेको जाल भएको बताइन् ।

भारतीय पूर्वराजदूत पंकज शरणले दक्षिण एसिया पूर्वाधारपछिको युगमा प्रबेश गरेको बताए । यो क्षेत्रको विशाल भौतिक सम्पत्तिले पनि यस क्षेत्रमा आर्थिक संकटको शृंखलाबद्ध पतन रोक्न नसकेकोमा उनले चिन्ता व्यक्त गरे । उनले चिनियाँ राज्य–सम्बद्ध कम्पनीहरूले हाल नेपाल टेलिकमको मुख्य मोबाइल नेटवर्कमा लगभग पूर्ण नियन्त्रण कायम गरेको आरोप लगाए ।

See More On

सुझावित समाचार