नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष ०८३/८४ का लागि एक अर्ब २४ करोड ८८ हजारकाे अनुमानित बजेट सार्वजनिक गरेको छ । नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले चालू खर्चतर्फ ८७ करोड २७ लाख ५३ हजार र पुँजीगत खर्चतर्फ ३६ करोड ७३ लाख ३५ हजार रुपैयाँको बजेट नगरसभामा पेस गरेका हुन् ।
चालू आर्थिक वर्ष ०८२/८३ को भन्दा आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेट एक करोड सात लाख ८३ हजार रुपैयाँले बढी हो । बिहीबार नगरसभाको १९औँ अधिवेशनले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । नीलकण्ठ नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, युवा, पूर्वाधार र सुशासनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको नगर उपप्रमुख दीपक विश्वकर्माले बताए ।
शिक्षा क्षेत्रतर्फ कक्षा १२ सम्मको अनिवार्य निःशुल्क शिक्षालाई निरन्तरता दिन आठ करोड २२ लाख, युवा तथा खेलकुद क्षेत्रका लागि ५४ लाख ५० हजार रुपैयाँ, युवाको सिप, उद्यमशीलता र नेतृत्व विकासलगायतका कार्यक्रमका लागि नाै लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
रोजगारी सिर्जना र प्रवर्द्धनका लागि २५ लाख रुपैयाँ, वैदेशिक रोजगारीसम्बन्धी परामर्श तथा पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि १७ लाख, खानेपानी तथा सरसफाइतर्फ लिफ्ट खानेपानी योजनाको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान, विपन्न नागरिकको मृत्यु संस्कार सहयोग तथा अन्य सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइएको छ । खानेपानी, सरसफाइ तथा फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित गर्न ४० लाख तथा फोहोरमैला व्यवस्थापनका लागि थप ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
पूर्वाधार विकासअन्तर्गत सबै वडा कार्यालयसम्म कालोपत्रे सडक पुर्याउने लक्ष्यसहित विभिन्न सडक योजनाका लागि १३ करोड २३ लाख, नगर सौन्दर्यीकरण तथा करिडोर निर्माणका लागि ४० लाख, विपत् व्यवस्थापन कोषमा ५० लाख, सूचना तथा प्रविधि क्षेत्रतर्फ नेटवर्क विस्तार, सिसिक्यामेरा जडान तथा मर्मत–सम्भारका लागि ७० लाख, न्यायिक समितिमार्फत मेलमिलाप, कानुनी सहायता र न्यायिक पहुँच अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न १३ लाख, वडा कार्यालयमार्फत प्राप्त हुने राजस्वको १० प्रतिशत रकम वडा सिफारिसका आधारमा क्षमता विकास तथा जनमुखी कार्यक्रम सञ्चालनमा खर्च गर्ने व्यवस्था गरिएको छ ।
नीति तथा कार्यक्रममा सुशासन, सेवा प्रवाह, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, युवा, खेलकुद, पूर्वाधार, पर्यटन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखिएको नगरप्रमुख भीमप्रसाद ढुंगानाले बताए । नीति तथा कार्यक्रममा सेवा प्रवाहलाई थप सरल, सहज, छिटो र पारदर्शी बनाउने, संस्थागत सुधारलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने, आवधिक योजना तथा मध्यकालीन खर्च संरचनालाई प्रभावकारी रूपमा लागू गर्ने उनले बताए । नगरभित्रका घरपरिवार तथा संस्थागत तथ्यांक अद्यावधिक गरी डिजिटल डाटा प्रणाली स्थापना गर्ने तथा रोजगार सिर्जनाका लागि क्षेत्रगत अध्ययन गरी आवश्यक नीति निर्माण गर्ने लक्ष्य लिइएको छ ।
कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिकीकरण गर्दै ‘एक वडा–एक उत्पादन’ स्थानीय उत्पादनको ब्रान्डिङ, शिक्षा क्षेत्रमा प्राविधिक तथा सिपमूलक शिक्षालाई प्राथमिकता दिँदै स्वास्थ्य तथा पोषण, सामाजिक सुरक्षा, जनस्वास्थ्य सेवा र स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उल्लेख छ ।
युवा तथा खेलकुद क्षेत्रको विकास, नगर गौरवका आयोजना, करिडोर निर्माण, चक्रपथ तथा नीलकण्ठ सिटी पार्कजस्ता योजनालाई उच्च प्राथमिकताका साथ सम्पन्न गर्ने नीति नगरपालिकाले लिएको उनले बताए । पर्यटन प्रवर्द्धनका लागि होमस्टे कार्यक्रम विस्तार, पर्यटकीय गन्तव्यको विकास तथा आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको छ ।
व्यवस्थित सहरीकरण तथा नमुना बस्ती विकासका लागि कम्तीमा ५० रोपनी क्षेत्रफलमा स्मार्ट बस्ती विकासको अवधारणा अघि सारिएको छ । वातावरण संरक्षण, दिगो विकास लक्ष्यको स्थानीयकरण, फोहोरमैला व्यवस्थापन तथा स्वच्छ नगर अभियानलाई निरन्तरता दिइने भएको छ । साथै खानेपानी तथा सरसफाइ क्षेत्रमा आवश्यक अध्ययन गरी सुरक्षित र गुणस्तरीय खानेपानीको पहुँच विस्तार गर्ने तथा एक घर–एक धारा अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने नगर प्रमुख भीमप्रसाद ढुंगानाले बताए ।
त्यस्तैगरी, नेत्रावती डबजोङ गाउँपालिकाले ४० करोड ५० लाख ६७ हजारकाे अनुमानित बजेट सार्वजनिक गरेको छ । नेत्रावती डबजोङ गाउँपालिका १९औँ गाउँसभामा गाउँपालिकाकी उपप्रमुख सीता गुरुङले पुँजीगत खर्चतर्फ नाै करोड २९ लाख, चालू खर्च सात करोड ५० लाख रुपैयाँ गाउँसभामा पेस गरेकी हुन् ।
शिक्षामा तीन करोड १० लाख, स्वास्थ्यमा एक करोड ५० लाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा ८८ लाख ९५ हजार, आर्थिक विकासतर्फ ५६ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले विशेषगरी शिक्षा, स्वास्थ्य, स्थानीय उत्पादनलाई जोड दिएर नीति कार्यक्रम तथा बजेट ल्याएको उनले बताइन् ।
शैक्षिक सुधार, स्वास्थ्य उपकरण खरिद तथा व्यवस्थापन, स्थानीय उत्पादनलाई बजारीकरण तथा ब्रान्डिङ गर्न जोड दिएको नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताए । मदिरा तथा गुन्द्रुकलाई ब्रान्डिङ गर्ने, होमस्टे सञ्चालन गर्नेजस्ता कार्यक्रम रहेका छन् । एक घर एक धाराजस्ता कार्यक्रम गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटको प्राथमिकतामा रहेका छन् ।
गाउँसभाकै अवसर पारेर सबैभन्दा बढी राजस्व संकलन गर्ने वडा नम्बर १ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता ठाकुर गुरुङ र वडासचिव राकेश भुललाई सम्मान गरिएको छ ।