अभौतिक मुद्रासम्बन्धी कसुरमा ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका– १२ बाट ६ जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार विगत केही दिनदेखि चिनियाँ नागरिकहरूले कानुनले निषेधित गरेको विभिन्न एप र वेबसाइटहरूमार्फत अभौतिक मुद्रा (किप्टोकरेन्सी)को कारोबार गरिरहेका छन् भन्ने विशेष सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले विभिन्न अभौतिक मुद्रा (किप्टोकरेन्सी) एप र वेबसाइटमार्फत कारोबार गरिरहेका ६ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ३१ देखि ४५ वर्षसम्मका रहेका छन् । प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ११ थान मोबाइल र दुई थान ल्यापटप बरामद गरेको जनाएको छ ।
सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रनाउ चन्दले बताए।