- उपत्यकाका तीनवटै जिल्लासहित झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा फैलिएको बर्डफ्लु नियन्त्रण गर्न ५ लाखभन्दा बढी जिउँदा ब्रोइलर र करिब सात लाख गोटा अन्डा नष्ट
पक्षीहरूमा देखापर्दै आएको बर्डफ्लु रोगको संक्रमण १० जिल्लामा फैलिएको छ । मौसमी प्रभाव र जैविक सुरक्षामा सावधानी नअपनाउँदा बर्डफ्लुको संक्रमण देखापरेको पशुसेवा विभागले जनाएको छ ।
विभागकी सूचना अधिकारी डा. इन्दिरा शर्माले हाल १० जिल्लामा देखिएको बर्डफ्लु सरकारको नियन्त्रणमै रहेको बताइन् । ‘कुखुरामा देखा परेको बर्डफ्लु रोग सरकारको नियन्त्रणमै छ । भयावह हुने गरी फैलिएको छैन’ उनले भनिन्, ‘संक्रमण भएको पुष्टि हुनासाथ प्राविधिकहरू खटिएर नियन्त्रणका सबै कामहरू भइरहेका छन् ।’
एक ठाउँमा बर्डफ्लु देखिएपछि मौसमी प्रभावले अन्य स्थानमा पनि सर्ने भएकाले नेपालमा यो वर्ष बर्डफ्लु देखिएको हो । त्यस्तै, किसानले खोरको उचित सुरक्षा र सावधानीका साथ व्यवसाय नगर्दा पनि संक्रमण फैलिएको उनले बताइन् । ‘संक्रमण फैलिन नदिन किसानले नै खोरको उचित सुरक्षा गर्नुपर्छ’ उनले भने, ‘सुरक्षाको विधि नअपनाउँदा पनि संक्रमण फैलिन मद्दत मिलेको देखिन्छ ।’
नेपालमा देखिने गरेको बडफ्लु ‘एच फाइभ एन वान’ प्रजातिको हो । यो प्रजातिको संक्रमण रोक्ने हालसम्म कुनै विधि विकास नभएकाले जिउँदो कखुरा, अन्डा, दाना र सुलीसमेत नष्ट गर्दै आएको उनले बताइन् । ०७८ यता ठुलो संख्यामा यो वर्ष बर्डफ्लु संक्रमण देखापरेको विभागको तथ्यांक छ । नेपालमा पहिलोपटक सन् २००९ मा झापामा संक्रमण पुष्टि भएको थियो । कुखरा, हाँस र जंगली चराहरूमा यो रोग बढी देखापर्ने गरेको विभागको अध्ययनमा उल्लेख छ ।
किसानलाई क्षतिपूर्ति दिन बजेट माग
बर्डफ्लु फैलिन नदिन संक्रमित क्षेत्रको आसपास रहेका जिउँदा कखुरा, अन्डा, दाना र सुलीलाई तत्काल नष्ट गर्ने गरिएको छ । यसरी नष्ट गरिएको कुखुरा, अन्डा र दानाको क्षतिपूर्ति सरकारले उपलब्ध गराउने व्यवस्था छ । नष्ट गरिएको कुखुरा, अन्डा र दानाको प्रचलित बजार मूल्यको ८० प्रतिशत रकम क्षतिपूर्तिबापत किसानलाई उपलब्ध गराउने गरिएको छ ।
पशुसेवा विभागले यो वर्ष बर्डफ्लु किसानलाई राहत दिन ५० करोड रुपैयाँ बजेट माग गरिएको जनाएको छ । विभागकी सूचना अधिकारी डा. इन्दिरा शर्माले नियमित बजेटमा दुई करोड रुपैयाँ मात्रै विनियोजन भएको र उक्त रकम अपुग भएकाले मन्त्रालयसँग माग गरिएको जानकारी दिइन् ।
सुनसरीमा सबैभन्दा धेरै संक्रमण
पशु सेवा विभागका अनुसार हालसम्म ७२ स्थानमा संक्रमण देखा परेको छ । सुनसरीमा सबैभन्दा धेरै दुई लाख ८५ हजार पाँच सय ६४ जिउँदो कुखुरा, चार लाख २७ हजार पाँच सय ८० वटा अन्डा र एक लाख २० हजार दुई सय २५ किलो दाना नष्ट गरिएको छ ।
पोल्ट्री हब चितवनमा दुईपटक गरेर ५७ हजार ६३ वटा जिउँदो कुखुरा र १२ हजार किलो दाना नष्ट भएको छ । त्यस्तै, झापामा २० हजार ९० वटा कुखुरा, ९७ हजार चार सय ५० वटा अन्डा र १० हजार चार सय ६५ किलो दाना नष्ट गरिएको छ ।
मोरङमा एक लाख एक हजार आठ सय ६० वटा कुखुरा, ९८ हजार ३२ वटा अन्डा र २३ हजार आठ सय १० किलो दाना, नवलपरासी पश्चिममा दुई सय आठ कुखुरा र एक सय किलो दाना, बारामा दुई हजार आठ सय ६५ वटा कुखुरा, चार हजार एक सय २७ वटा अन्डा र तीन हजार एक सय २५ किलो दाना तथा महोत्तरीमा ७८ वटा कुखुरा नष्ट गरिएको छ ।
काठमाडौंमा ३९ हजार चार सय ८१ वटा कुखुरा, ६३ हजार आठ सय ५४ वटा अन्डा र २१ हजार पाँच सय किलो दाना, ललितपुरमा नौ हजार सात सय ३० वटा कुखुरा, तीन हजार एक सय ५० वटा अन्डा र तीन हजार सात सय किलो दाना तथा भक्तपुरमा चार सय १७ वटा कुखुरा नष्ट गरिएको छ ।