नेपाल छिर्नै लागेको मनसुनलाई पश्चिमी वायुले रोक्यो

पश्चिमबाट पूर्वतिर हावा बहिदिँदा आसाम र पश्चिम बंगालमै रोकिएको छ मनसुन, अब चाँडै पश्चिमी वायु कमजोर हुने र मनसुन भित्रिने आकलन

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

पूर्वी नेपालनजिकैका पश्चिम बंगाल र आसामसम्म आइपुगेको दक्षिण–पश्चिम मनसुनी प्रणाली झन्डै डेढ सातादेखि ‘हल्ट’ (रोकिएको) छ । जसकारण सरदर अवधिभन्दा ६ दिन नाघिसक्दा पनि नेपालमा मनसुन भित्रिने छाँट छैन । कमजोर अवस्थामा रहेको मनसुनी प्रणाली नेपाल प्रवेश गर्न नसक्नुमा पश्चिमी वायु सक्रिय नै रहनु मुख्य कारण हो ।

मनसुनी वायु पूर्वबाट पश्चिमतर्फ बहन्छ । त्यसैले नेपालमा मनसुनी वायु प्रवेश गर्न वा सक्रिय हुन पश्चिमी वायु कमजोर वा निष्क्रिय हुनुपर्छ । तर, अहिले पनि पश्चमी वायु सक्रिय रूपमा पूर्वतिर बहिरहेको छ ।

‘मे महिनाबाटै कमजोर हुनुपर्ने पश्चिमी वायु अहिले (जुन मध्यसम्म) पनि भारतको उत्तराखण्ड, उत्तर प्रदेशसँगै नेपालमा सक्रिय नै छ,’ त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले भने, ‘मनसुन आफैँमा आसाम र पश्चिम बंगालमा सुस्ताएको छ, त्यसमाथि पश्चिमबाट पूर्वतिर हावा बहिदिँदा रोकिन पुगेको हो ।’

नेपालमा मनसुन नभित्रिनुका कारण अरू पनि छन् । नेपाल र आसपासको क्षेत्रमा उच्च वायुमण्डलीय चाप सिर्जना भएको छ । जसकारण हावा तलतिर थिचिएको छ । यसले बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावालाई माथि उठ्न र बादल बन्न दिइरहेको छैन । ‘माथिल्लो र तल्लो वायुमण्डलको प्याटर्न एउटै हुनुपर्छ । तर, तल्लो वायुमण्डलमा बहनुपर्ने मनसुनी वायु पूर्वतिर रोकिएर बसेको छ,’ सिग्देलले भने ।

स्थानीय तापक्रम र न्यून चापको अभावले पनि मनसुनको बहाव तय गर्छ । तर, पूर्वी नेपालमा मनसुनी वायुलाई तान्नका लागि जति न्यून चापको क्षेत्र विकसित हुनुपर्ने हो, त्यो पर्याप्त मात्रामा हुन सकेको छैन । पश्चिम नेपालको तराईमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघ्दा पनि पूर्वी तराईमा ३३ डिग्री सेल्सियस मात्र छ । ताप्लेजुङसहितका पहाडी क्षेत्रमा तापक्रम अझ कम छ ।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनले पश्चिमी वायु अर्को सातासम्म कमजोर हुने आकलन रहेको बताइन् । ‘मनसुन कहिले भित्रिन्छ भनेर यकिन भन्न सकिने अवस्था त छैन । तर, अब बिस्तारै पश्चिमी वायु कमजोर हुने देखिन्छ । त्यसपछि मनसुन भित्रिन्छ,’ महर्जनले भनिन् । नेपालमा पूर्वी नेपाल हुँदै प्रवेश गर्ने मनसुनी वायु देशभर फैलिन सामान्यतया पाँचदेखि सात दिन लाग्छ । तर, पोहोर कोशी प्रदेशमै १० दिन रुमल्लिएको मनसुनी वायु सुदूरपश्चिम पुग्न दुई साता लागेको थियो ।

जल तथा मौसम विज्ञान विभागले १ असारमा विज्ञप्ति जारी गर्दै एल–निनोको प्रभाव रहेका वर्ष नेपालमा ढिलो गरी मनसुन प्रवेश गरेको तथ्यांक सार्वजनिक गरेको थियो । तर, सहप्राध्यापक सिग्देल भने प्रशान्त महासागरमा हालै मात्र ‘एल–निनो’ विकसित भएकाले त्यही कारणले मनसुनी वायु प्रवेश गर्न ढिलो भयो भन्न नमिल्ने बताउँछन् ।

‘मनसुन ढिलो हुनुमा मुख्य कारण पश्चिमी वायु सक्रिय रहनुसँग सम्बन्धित छ । यसलाई हिउँदयामसँग पनि जोड्नुपर्छ,’ सहप्राध्यापक सिग्देलले भने, ‘हिउँद सुक्खा रह्यो, अन्तिमतिर (माघ)बाट मात्र पानी पर्‍यो । यसले हिउँदे प्रणाली धकेलिएर प्रिमनसुनमा आयो । प्रिमनसुन मध्य जेठसम्म हो, तर असार लागिसक्दा पनि सक्रिय छ । अहिले प्रिमनसुन सक्रिय हुनुको कारण पश्चिमी वायु कायमै रहँदा हो । पश्चिमी वायुले मनसुनलाई प्रवेश गर्न दिएको छैन ।’ एल–निनोको प्रभाव भने जुलाईबाट देखापर्ने उनको भनाइ छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने र तापक्रम बढी हुने आकलन यसअघि नै सार्वजनिक गरिसकेको छ ।

सामान्यतया मनसुन भारतको पश्चिम बंगाल पुगेको २४ देखि ७२ घण्टाभित्र नेपालको पूर्वी नेपाल प्रवेश गरिसक्छ । तर, जब पश्चिमी वायुको प्रभाव नेपालमा बलियो हुन्छ, तब पश्चिम बंगालमा मनसुन पुगेर पनि नेपाल आउन एक हप्तादेखि १० दिनसम्म लाग्ने गर्छ ।

आसाम र पश्चिम बंगाल क्षेत्रमा यस वर्ष मनसुन जुन ४ देखि ९ को बिचमा प्रणालीगत रूपमा प्रवेश गरेको थियो । तर, जुन ९ सम्ममा मनसुनले आसामको सम्पूर्ण भूभागलाई समेटिसकेको थियो ।

प्रिमनसुनमा भने वर्षाको रेकर्ड, ४५ वर्षयताकै धेरै पानी
हिउँदपछि र बर्खाअघिको अवधिमा भने यस वर्ष नेपालमा अत्यधिक पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ४५ वर्ष अर्थात् सन् १९९० को रेकर्डलाई ब्रेक गर्दै ३३९.७ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यो वर्षा सरदर (२२६.३ मिलिमिटर) भन्दा १४५.५ प्रतिशत धेरै हो । सन् १९९० मा भने ३३१.४० मिलिमिटर वर्षा रेकर्ड भएको थियो । त्यस्तै, सन् २००० मा ३२३.१९, सन् २०२१ मा ३१७.८८ र सन् २०२० मा ३१५.७८ मिलिमिटर वर्षा भएको थियो ।

मौसम विभाग, जलवायु शाखाका मौसमविद् अशोक बख्रेलका अनुसार यो तथ्यांक १२१ वर्षा मापन केन्द्रको औसत वर्षा हो । ‘यो वर्ष प्रिमनसुनमा पश्चिमी वायु सक्रिय रह्यो । यसबाहेक स्थानीय वायु पनि सक्रिय रहँदा धेरै पानी परेको हो,’ उनले भने ।

पछिल्ला वर्षको तथ्यांक हेर्ने हो भने पोहोर (सन् २०२५) मा २७३.९६ मिमि, २०२४ मा १८१.३३, सन् २०२३ मा २०९.८२, सन् २०२२ मा २४६.३ र सन् २०२१ मा ३१७.८८ मिमि वर्षा रेकर्ड भएको थियो ।
 

See More On

सुझावित समाचार