पेट्रोलपम्प व्यवसायीलाई लाग्यो चुनाव, अध्यक्षमा अर्याल र इटेनीबिच प्रतिस्पर्धा

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

पेट्रोलपम्प व्यवसायीको छाता संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको शुक्रबारदेखि ४६औँ वार्षिक साधारणसभा तथा १७औँ राष्ट्रिय सम्मेलन तय भएको छ । दुई दिन चल्ने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्ने एसोसिएसनले जनाएको छ ।

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा हालको कार्यसमितिका महासचिव विश्व अर्याल र मकवानपुरका पेट्रोलपम्प व्यवसायी उत्सव इटेनीले उम्मेदवारी दिएका छन् । दुवैले प्यानलसहित प्रतिस्पर्धा गर्ने गरी समूह निर्माण थालेका छन् ।

अर्याललाई काठमाडौं उपत्यकासहितका पम्प व्यवसायीको संस्था बागमती पेट्रोलियम डिलर्स एसोसिएसनले साथ दिने भएको छ । बागमती एसोसिएसनका अध्यक्ष अच्युत खड्काले अर्याल प्यानलमार्फत केन्द्रीय महासचिवका लागि उम्मेदवारी दिने भएका छन् । एसोसिएसनमातहतको नारायणी बिक्रेता संघको अध्यक्ष रहेका इटेनीले भने मोफसलका पम्प व्यवसायीबाट दह्रिलो समर्थन जुटाएका छन् ।

देशभर रहेका एक हजार ५१३ पेट्रोलपम्प व्यवसायीले निर्वाचनमा मतदान गर्नका लागि ३७० प्रतिनिधि पठाएका छन् । यसमध्ये काठमाडौंबाट सबैभन्दा धेरै ३० जना प्रतिनिधि चयन भएका छन् ।

प्रत्येक पाँचजना सदस्यबराबर एकजना प्रतिनिधि चयन भएको एसोसिएसनको सचिवालयले जनाएको छ । काठमाडौंमा १४७ वटा पेट्रोलपम्प रहेकाले ३० जना प्रतिनिधि चयन भएका हुन् । त्यसैले, निर्वाचनमा काठमाडौंका प्रतिनिधि निर्णायक हुनेछन् ।

सुझावित समाचार