उच्च अदालत जनकपुर, राजविराज इजलासले सप्तरीको राजविराज नगरपालिकाले निजी तथा गुठी विद्यालयहरूले चालू शैक्षिक सत्रमै शुल्क वृद्धि गर्ने गरी गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश रामबहादुर थापाको एकल इजलासले नगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतले आफ्नो आदेशमा शिक्षा नियमावली, २०४९ को व्यवस्थालाई विशेष रूपमा उल्लेख गरेको छ। नियमावलीको नियम ८४ अनुसार विद्यालयको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने व्यवस्था छ।
त्यसैगरी, नियम १४७(२) ले विद्यालयहरूले लिन पाउने शुल्कको अधिकतम सीमा निर्धारण गरी शैक्षिक सत्र सुरु हुनुभन्दा कम्तीमा तीन महिनाअगावै सूचना प्रकाशन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। तर, अदालतको प्रारम्भिक निष्कर्षअनुसार राजविराज नगरपालिकाले २०८३ जेठ ९ गते बसेको बैठकबाट चालू शैक्षिक सत्रकै बिचमा शुल्क वृद्धि गर्ने निर्णय गरेको देखिएको छ। सोही निर्णयका आधारमा नगरपालिका क्षेत्रभित्रका संस्थागत तथा गुठी विद्यालयहरूको मासिक शुल्क निर्धारण तालिकासमेत सार्वजनिक गरिएको थियो।
अदालतले अर्को महत्वपूर्ण कानुनी प्रश्न पनि उठाएको छ। शिक्षा नियमावलीको नियम १४५क (१) को खण्ड (ख) अनुसार संस्थागत विद्यालयको शुल्क निर्धारण गर्दा शिक्षा विकास तथा समन्वय इकाइ र अभिभावकहरूको प्रतिनिधित्व रहने समितिको निर्णय आवश्यक पर्ने व्यवस्था छ। तर, प्रस्तुत प्रकरणमा शुल्क निर्धारण गर्दा त्यस्तो समितिबाट निर्णय भएको देखिएको छैन।
यही कारण अदालतले पहिलो दृष्टिमै नगरपालिका तथा सम्बन्धित निकायको निर्णय शिक्षा नियमावलीको नियम १४७(२) र नियम १४५क (१)(ख) को प्रतिकूल रहेको ठहर गरेको छ।
आदेशमा भनिएको छ, 'अन्तरिम आदेशसम्बन्धी अन्तिम निर्णयमा पुग्नुअघि दुवै पक्षको विस्तृत बहस आवश्यक देखिन्छ। तर, त्यसअघिसम्म शुल्कवृद्धिको निर्णय कार्यान्वयन हुन दिँदा अभिभावक र विद्यार्थीमाथि प्रत्यक्ष असर पर्न सक्ने भएकाले यथास्थितिमा राख्नु आवश्यक रहेको अदालतको निष्कर्ष छ।”
यसै आधारमा उच्च अदालतले २०८३ जेठ ९ गते गरिएको शुल्कवृद्धि सम्बन्धी निर्णय, त्यससँग सम्बन्धित सूचना तथा पत्राचार कार्यान्वयन नगर्न विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)(क) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
अदालतले विपक्षी राजविराज नगरपालिका तथा सम्बन्धित निकायहरूलाई लिखित जवाफ पेस गर्न निर्देशन दिँदै अन्तरिम आदेशबारे थप छलफलका लागि असार ११ गतेको पेसीसमेत तोकेको छ।