गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेटमार्फत गृह प्रशासनलाई परम्परागत सुरक्षा प्रणालीबाट प्रविधिमैत्री, नागरिकमैत्री र परिणाममुखी संरचनामा रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय सुरक्षा, साइबर अपराध नियन्त्रण, विपत् व्यवस्थापन, सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिए।
उनका अनुसार ‘वान आइडी, मल्टिपल गभर्मेन्ट सर्भिस’ अवधारणाअन्तर्गत राष्ट्रिय परिचयपत्रलाई सबै सार्वजनिक सेवासँग आबद्ध गरिनेछ। यसबाट नागरिकले एउटै परिचयपत्रमार्फत विभिन्न सरकारी सेवा लिन सक्ने व्यवस्था गरिने उनले बताए।
साइबर अपराध अनुसन्धानलाई सुदृढ बनाउन नेपाल प्रहरीका लागि ५० करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए। कृत्रिम बुद्धिमत्ता (एआई) र एड्भान्स एनालिटिक्स प्रविधिको प्रयोगमार्फत अनुसन्धान प्रणालीलाई थप वैज्ञानिक बनाइने तथा साइबर ब्युरोलाई आवश्यक उपकरण र स्रोतसाधन उपलब्ध गराइने उनले बताए।
महिला तथा लैँगिक हिंसाबाट पीडितलाई न्याय सुनिश्चित गर्न विशेष संयन्त्र सक्रिय बनाइएको उल्लेख गर्दै उनले ‘हेलो गृह कल सेन्टर’ मार्फत २४सै घण्टा नागरिकका गुनासा सुनुवाइ गर्ने व्यवस्था गरिएको बताए। नेपाल प्रहरीले सञ्चालनमा ल्याएको ‘केस ट्र्याकिङ सिस्टम’ मार्फत सेवाग्राहीलाई एसएमएसद्वारा जानकारी दिने व्यवस्थासमेत गरिएको उनले जानकारी दिए।