दमक भ्युटावर मर्मतका लागि अर्को ठेक्का लाग्दै

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

गत वर्ष भदौमा जेन-जी आन्दोलनका वेला आगजनी हुँदा क्षतिग्रस्त बनेको झापा दमक नगरपालिका– ३, दापगाछीमा रहेको दमक भ्युटावरको मर्मत सुरु भएको छ । पहिलो चरणमा ७६ लाख सात हजारमा ठेक्का लागेर मर्मतको काम भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय झापाका इन्जिनियर रोशन झाले बताए ।

असार मसान्तमा सक्ने गरी विनिता कन्स्ट्रक्सन एन्ड सप्लायर्स इटहरीले ठेक्कामा लिएको हो । यो ठेक्काबाट आन्दोलनका क्रममा भवनका सिसा फुटाइँदा भएको फोहोर सफा गर्नुका साथै मुख्य संरचनाबाहिर कम्पाउन्डमा रहेको प्रवेश र निस्कने द्वारको मर्मत हुँदै गरेको उनले बताए ।

भ्युटावर मर्मतका लागि साढे पाँच करोडमा नयाँ ठेक्का खुलेको सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख प्रदीप सिंहले बताए । निर्माण कम्पनी छनोटको चरणमा नै रहेको उनको भनाइ छ । यो ठेक्काबाट मुख्य भवनमा फुटेको सिसा फेर्ने, फलसिलिङ, लिफ्ट र शौचालय मर्मतको काम गरिने उनले बताए ।

‘यसमा क्षति धेरै भएकाले मर्मत यो ठेक्काबाट मात्रै मर्मत पूरा त हुँदैन । तर, इलेक्ट्रिकल, मेकानिकल र प्लम्बिङबाहेकको काम हुन्छ,’ उनले भने, ‘आउने कात्तिकसम्म काम सकेर कम्तीमा त्यहाँ पुगेर प्रवेश गरेर, बाहिर घुमेर फोटो खिच्न सक्ने बनाउनेछौँ ।’ 

निर्माणको चरणमा दमक भ्युटावर भनिए पनि उद्घाटन गर्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले बिजनेस टावर भनेको यो भ्युटावर कसरी सञ्चालन गर्ने भन्ने मोडालिटी नै तयार भएको छैन । जसकारण आलोचना हुँदै आएको थियो । भ्युटावर निर्माण सम्पन्न भइसक्दा पनि वातावरणीय प्रभाव मूल्यांकन तथा नक्सा पाससमेत गरिएको छैन ।

जग्गा बिचौलियाको प्रभावमा परेर यो भ्युटावर निर्माण भएको भन्दै आलोचनासमेत हुँदै आएको छ । सुरुमा जग्गादान गरेका केही प्लटिङ व्यवसायी पछि जग्गा फिर्ता माग्दै दमक नगरपालिकासमेत पुगेका थिए । यो भ्युटावरमा आम्दानीभन्दा पनि खर्च धेरै रहेको महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६३औँ प्रतिवेदनमा उल्लेख छ ।

यो भ्युटावर सर्वसाधारणले दृश्य हेर्ने गरी प्रतिव्यक्ति सय रुपैयाँ शुल्क लिएर १ साउन ०८२ बाट खुला भएको थियो । तर, जेन–जी आन्दोलनसँगै बन्द भएको थियो । महालेखाको प्रतिवेदनअनुसार भ्युटावरको संरक्षण तथा सम्भार, विद्युत्, इन्धन, सरसफाइ र सुरक्षाबापत आर्थिक वर्ष ०८२/८३ मा ३३ लाख ४१ हजार खर्च भएको छ । 

संरचनाको उपयोगबाट अर्थात् दृश्यावलोकनका लागि सर्वसाधारणलाई प्रवेश र पार्किङबापत आठ लाख ७७ हजार आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । एक महिनाअघिसम्म बिजुलीको महसुल मात्रै मासिक एक लाखभन्दा बढी तिर्नुपरेको सघन सहरी तथा भवन निर्माण कार्यालय झापाका प्रमुख प्रदीप सिंहले बताए ।

उनका अनुसार हाल बिजुली भने काटिएको छ । तर, भ्युटावर रेखदेखका लागि हाल एकजना कर्मचारी छन् । उनलाई मासिक १० हजार पाँच सय रुपैयाँ पारिश्रमिक दिइँदै आएको कार्यालयले जनाएको छ ।

सुझावित समाचार