बर्दियाका दुग्ध सहकारी संस्थाहरूलाई ५० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको छ। एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले दुग्ध सहकारी संस्थाहरूलाई ५० प्रतिशत अनुदानमा मिल्ककेन, मिल्क एनालाइजर, जेनेरेटर, मिल्क चिलिङ भ्याट र अल्ट्रासोनिक भाइब्रेटर सामग्री वितरण गरेको हो।
दुग्ध चिस्यान केन्द्र स्थापना तथा सुदृढीकरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा दुग्धजन्य सामग्री वितरण गरिएको छ। बढैयाताल गाउँपालिका– ७, तिल्कानामा रहेको भगवती दुग्ध उत्पादन सहकारी संस्थालाई मिल्ककेन र मिल्क एनालाइजर अनुदान दिइएको छ।
त्यसैगरी बढैयाताल गाउँपालिका– ३, दमौलीपुरमा रहेको नकाहा कृषि सहकारी संस्था लिमिटेडलाई मिल्ककेन, अल्ट्रासोनिक भाइब्रेटर र मिल्क एनालाइजर दिइएको छ। बारबर्दिया नगरपालिका– ४ मा रहेको दहित दुग्ध खरिद–बिक्री केन्द्रलाई जेनेरेटर र मिल्क चिलिङ भ्याट दिइएको कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत डा. रुपेन्द्रकुमार वलीले बताए।
उनले भने, ‘सहकारी संस्थालाई आवश्यक पर्ने दुग्धजन्य उपकरण खरिद गर्नका लागि जिम्मा दिइएको थियो। सोहीअनुरूप सहकारी संस्थाले उपकरण खरिद गरेका हुन्। उपकरण खरिद गर्नका लागि भगवती दुग्ध उत्पादन सहकारी र दहित दुग्ध खरिद–बिक्री केन्द्रलाई पाँच–पाँच लाख रुपैयाँ र नकाहा कृषि सहकारी संस्था लिमिटेडलाई तीन लाख ९२ हजार रुपैयाँ अनुदान दिइएको छ।’