धादिङको नीलकण्ठ नगरपालिकाबाट दुई नाल अवैध भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङले नीलकण्ठ– ११, गोलाभञ्ज्याङका ३३ वर्षीय श्यामबहादुर शाक्य र नीलकण्ठ– ९, पाल्पाभञ्ज्याङका ३२ वर्षीय सन्तबहादुर गुरुङलाई पक्राउ गरेको हो।
वन छेउमा केही व्यक्तिहरूले अवैध हतियार लुकाइराख्ने गरेका र बेलाबेलामा अवैध शिकार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शाक्यलाई बारुद लोड गरी राखेको अवस्थामा एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो। गुरुङले बिरूडा सामुदायिक वन छेउमा लुएर राखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।
उनीहरूलाई मंगलबार धादिङ जिल्ला अदालतले नौ दिनको म्याद थप अनुमति दिएको छ।