यस्तो पनि...

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

खेलाडी र प्रशिक्षकका रूपमा विश्व च्याम्पियन 
ब्राजिलका मारिनो जागलो, पश्चिम जर्मनीका फ्रान्ज बेकेनबाउर र फ्रान्सका डिडियर डेस्च्याम्पले खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप उपाधि जितेका छन् । जागलोले सन् १९५८ र १९६२ मा खेलाडीका रूपमा ट्रफी जिते । त्यसपछि उनले प्रशिक्षकका रूपमा राष्ट्रलाई सन् १९७० मा उपाधि दिलाए । बेकेनबाउरले सन् १९७४ मा कप्तानका रूपमा विश्वकप जिते भने सन् १९९० मा प्रशिक्षक भएर उनले उपाधि हात पारे । डिडिएर सन् १९९८ मा फ्रान्सले उपाधि जित्दा खेलाडी थिए । उनले सन् २०१८ मा प्रशिक्षकका रूपमा विश्वकप जिते । 

जर्मनी धेरैपटक तेस्रो
फिफा विश्वकपमा विजेता र उपविजेताको भन्दा तेस्रो स्थानको चर्चा कमै हुन्छ । ब्राजिल सर्वाधिक पाँचपटक च्याम्पियन हो । त्यस्तै, जर्मनी र इटाली समान चारपटक च्याम्पियन भएका छन् । योसँगै जर्मनीले सर्वाधिक धेरै (चारपटक) तेस्रो भएको कीर्तिमान बनाएको छ । जर्मनी सन् १९३४, १९७०, २००६ र २०१० मा तेस्रो भएको थियो । जर्मनीबाहेक ब्राजिल, फ्रान्स, स्विडेन, क्रोएसिया, पोल्यान्ड समान दुईपटक तेस्रो भएका छन् । 

छैटौँपटक विश्वकप खेल्दै
विश्वकपमा कमैले लगातार ६ पटक सहभागिताको रेकर्ड राखेका छन् । २३औँ संस्करणमा तीन खेलाडीले लगातार छैटौँपटक विश्वकप खेल्नेछन् । यसमध्ये मेक्सिकोका राफेल माक्विजले यो सफलता हात पारेका छन् । उनले सन् २००२ देखि २०२६ सम्म विश्वकप खेलेर रेकर्ड बनाएका छन् । उनलाई पछ्याउनेमा अर्जेन्टिनी कप्तान लियोनल मेसी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो छन् । विश्वकपमा एन्टोनिओ कार्बाजालले पहिलो खेलाडीका रूपमा लगातार पाँचपटक विश्वकप खेलेका थिए । उनले सन् १९५० देखि १९६६ सम्म खेले । जर्मनीका लाथोर माथ्युसले सन् १९८२ देखि १९९८ सम्म विश्वकप खेले ।

च्याम्पियन उरुग्वे सहभागी भएन
सन् १९३० मा विश्वकप पहिलोपटक आयोजना हुँदा आयोजक राष्ट्र उरुग्वेले नै उपाधि जितेको थियो । दोस्रोपटक विश्वकप आयोजनामा उरुग्वेले उपाधि रक्षा गर्ने अपेक्षा थियो । तर, उरुग्वेले आन्तरिक विवाद देखाउँदै सन् १९३४ को विश्वकपमा भाग नै लिएन । साबिक विजेता विश्वकपमा सहभागी नभएको त्यो नै अहिलेसम्मको खराब रेकर्ड हो ।

सुझावित समाचार