चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहने अनुमान गरिएको छ । आर्थिक वर्ष ०८२/८३ को आर्थिक सर्वेक्षणले सात प्रदेशमध्ये सबैभन्दा बढी आर्थिक वृद्धिदर बागमतीमा ५.४ प्रतिशत र सबैभन्दा कम मधेशमा १.३१ प्रतिशत रहने अनुमान गरेको हो ।
सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले उक्त सर्वेक्षण प्रदेश सभामा आइतबार प्रस्तुत गरेका हुन् । मन्त्री धामीले चालू आर्थिक वर्षमा देशको कुल गार्हस्थ उत्पादनमा सुदूरपश्चिमको योगदान सात प्रतिशत रहने अनुमान गरिएको जानकारी दिए । आर्थिक सर्वेक्षणअनुसार गत आर्थिक वर्षको चैतसम्ममा प्रदेशको कुल आम्दानी १९ अर्ब ७७ करोड ७१ लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा घटेर १७ अर्ब ५५ करोड ६० लाख रहेको छ ।
प्रदेश सरकारले यस वर्ष एक अर्ब ६५ लाख रुपैयाँ आन्तरिक आय संकलनको लक्ष्य लिएकोमा चैत मसान्तसम्म एक अर्ब १० करोड ५५ लाख रुपैयाँ संकलन गरिएको मन्त्री धामीले जानकारी दिए । सरकारले सबैभन्दा बढी सवारीसाधनतर्फ ३१ करोड ५६ लाख र घरजग्गा रजिस्ट्रेसनतर्फ २२ करोड ७९ लाख रुपैयाँ संकलन गरेको हो ।
चैत मसान्तसम्म पुँजीगततर्फ १६.९ प्रतिशत र चालूतर्फ ३३.१४ प्रतिशत गरी सात अर्ब ७७ करोड ५० लाख रुपैयाँ खर्च गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । जुन गत वर्ष सोही अवधिमा भएको खर्चको तुलनामा पुँजीगततर्फ १६.९० र चालूतर्फ ७.३३ प्रतिशतले कम हो ।
प्रदेशको कुल बेरुजु तीन अर्ब ५४ करोड ८६ करोड रुपैयाँ पुगेको मन्त्री धामीले जानकारी दिए । त्यस्तै, सुदूरपश्चिममा हालसम्म बैंक तथा वित्तीय संस्थाको शाखा ८४३ वटा रहेका, चैत मसान्तसम्म एक खर्ब ८९ अर्ब निक्षेप संकलन भएको र एक खर्ब ६३ अर्ब कर्जा प्रवाह भएकोसमेत उनले जानकारी दिए ।
सुदूरपश्चिममा गत वर्ष चैत मसान्तको तुलनामा यस वर्ष सोही अवधिमा मोबाइल बैंकिङ प्रयोग गर्नेको संख्या १०.७ प्रतिशत र क्युआर मर्चेन्ट प्रयोग गर्नेको संख्या ४२.७६ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २०.०४ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ ।
प्रदेशमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म सामाजिक सुरक्षा कोषमा ६७ रोजगारदाता र एक हजार ५४७ योगदानकर्ता थप भई सामाजिक सुरक्षा कोषमा आबद्ध रोजगारदाताको संख्या ३८० र योगदानकर्ताको संख्या २३ हजार २१० जना पुगेको सर्वेक्षणमा उल्लेख छ ।
सुदूरपश्चिममा फागुन मसान्तसम्मको विद्युत् उत्पादन १६९ मेगावाट रहेको छ । त्यस्तै, चैत मसान्तसम्म कुल उद्योग संख्या एक हजार ५९९ दर्ता भई पाँच हजार ४५२ जनालाई रोजगारी प्रस्ताव र दुई अर्ब २२ करोड ३४ लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको मन्त्री धामीले जानकारी दिए ।